बनेपामा एक सय २० वर्षदेखिको कन्या पूजा यस वर्षदेखि हुदै



काभ्रेपलाञ्चोक १ भदौ । दुई वर्षदेखि रोकिएको कन्या–पूजालाई यस वर्षदेखि निरन्तरता दिइने भएको छ । एक सय २० वर्षदेखि भाद्र कृष्ण जन्माष्टमीको दिन काभ्रेपलाञ्चोकको बनेपा नगरमा कन्याको पूजा गरी मनाइँदै आएको उक्त पूजा कार्यक्रम कोरोना महामारीका कारण विगतका दुई वर्ष स्थगित गरिएको थियो ।

सनातन कन्या–पूजा प्रबन्ध समितिले एक सय २० वर्षदेखि निरन्तर यस पूजाको आयोजना गरी रजस्वला नभएका ९१० वर्षमुनिका कन्यालाई०लाई पुज्दै आएको छ । समितिले गएका दुई वर्ष कन्या–पूजालाई परम्परामै सीमित गरेको थियो । यस वर्षको कन्या–पूजा कृष्ण जन्माष्टमी अर्थात् भदौ ३ गते करिब आठ हजार कन्याको पूजा गरी मनाइने समितिले जनाएको हो ।

“कोरोना महमारीका कारण बितेका दुई वर्ष कन्या–पूजालाई परम्परामै सीमित ग¥यौँ, यस वर्षदेखि कन्या–पूजा कार्यक्रमलाई निरन्तरता दिने तयारीमा छौँ”, समितिका अध्यक्ष रोमगोपाल कायस्थले भने । उनका अनुसार कोरोनाको जोखिम न्यून हुँदै गएकाले कन्या–पूजा कार्यक्रमलाई यस वर्षदेखि पुनः निरन्तरता दिन थालिएको हो ।

रजस्वला नभएका तथा बेल–विवाह नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता छ । यस मान्यताका साथ काभ्रेको विभिन्न स्थानमा रजस्वला नभएका कन्या ९विशेषगरी १० वर्षमुनिका०लाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा पुज्दै आइएको थियो । विशेषगरी जिल्लाको मुख्य सहर बनेपामा धुमधामका साथ कन्या–पूजा आयोजना गरिँदै आइएको छ । पछिल्ला केही वर्षदेखि जिल्लाको अन्य स्थानीय तहका बजार तथा बस्तीमा कन्या–पूजा गर्न थालिएको छ ।

इतिहासकारका अनुसार बनेपा नगरमा यो पूजाको इतिहास एक सय २० वर्ष पुरानो रहेको छ । बनेपामा वर्षमा दुईपटक कन्या–पूजाको आयोजना गरिन्छ । नेवाः कन्या–पूजा नाम दिइएको एउटा टिकलवाला कन्या–पूजा बनेपा नगरपालिका–८ दक्षुटोलमा आयोजना गरिन्छ । हिजो मङ्गलबार आयोजना गरिएको उक्त पूजामा करिब दुई हजार कन्या पुजिएको छ ।

अर्को बिनाटिकट, स्वतःस्फुर्त गरिने कन्या–पूजा कृष्ण जन्माष्टमीको दिनमा बर्सेनि करिब आठदेखि १० हजार कन्या सहभागी हुन्छन् । बनेपा नगरको भोलाखाँ टोलबाट लायकु दरबार तथा पुरानो बजार हुँदै चारदोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । दश वर्षमुनिका कन्यालाई पुज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाई समेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ । यसकारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ ।

सो दिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेको समितिका सदस्य प्रकाश कायस्थले जानकारी दिए । उनका अनुसार कन्या–पूजामा समितिमार्फत एक सय ३५ भक्तजनले दान–दक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् । पूजामा सामेल प्रत्येक कन्याको टाउकामा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टीका लगाइदिने प्रचलन छ ।रासस

प्रकाशित मिति : भाद्र १, २०७९ बुधबार  ८ : १३ बजे