श्रीलंकालाई ६–० ले हराउँदै नेपाल महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा



नेपाली राष्ट्रिय महिला फुटबल टिम राजधानीमा जारी छैटौं संस्करणको साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बीमा रहेको नेपाल शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो खेलमा भुटानमाथि जीत दर्ता गरेको नेपालले आज भएको समूह चरणको दोस्रो तथा अन्तिम खेलमा श्रीलंकाविरुद्ध ६–० गोलको एकतर्फी जीत निकाल्न सफल भयो । यो समूहबाट नेपालसँगै भुटान पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

भुटानले पनि समूह चरणमा श्रीलंकाविरुद्ध जीत दर्ता गरेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध सुरुदेखि नै दवाव सिर्जना गरेको थियो । पहिलो हाफमै ४ गोल गरेको नेपालले दोस्रो हाफमा अरु २ गोल थप गरेको थियो ।

नेपालको जीतमा अमिशा कार्कीले २ गोल गर्दा सरु लिम्बू रश्मीकुमार घिसिङ, अमृता जैशी र दीपा शाहीले एक एक गोल गरेका थिए ।

नवौं मिनेटमा नेपालले अग्रता लिएको थियो । नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गर्दै अग्रता दिलाइन् । त्यसको २ मिनेटमै नेपालले अग्रता दोब्बर बनायो । सरु लिम्बूले गोल गरेपछि नेपालले अग्रता २–० बनाएको हो ।

त्यसपछि १७ औं मिनेटमा नेपालले अमृता जैशीको गोल मार्फत अग्रता तेब्बर बनायो । पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा दीपा शाहीले नेपालका लागि चौथो गोल गरेकी थिइन् । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा श्रीलंकाविरुद्ध २ गोल थप गरेको थियो ।

७७ औं मिनेटमा अमिशा कार्कीले नेपालका लागि पाँचौं तथा व्यक्तिगत पहिलो गोल गरेकी थिइन् । उनी परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेकी थिइन् । दोस्रो हाफको अतिरिक्त दोस्रो मिनेटमा नेपालका लागि अमिशाले नै व्यक्तिगत दोस्रो तथा टिमका लागि छैटौं गोल गरिन् । पराजित भएको श्रीलंका समूह चरणबाटै बाहिरिएको छ ।

प्रकाशित मिति : भाद्र २७, २०७९ सोमबार  ८ : ०६ बजे