बारा/पर्साका हावाहुरी प्रभावितलाई कांग्रेसले थप २५ लाख सहयोग गर्ने सभापति देउवाको घोषणा



काठमाडौं चैत, १९–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल बारा र पर्साका हावाहुरी प्रभावितलाई थप २५ लाख राहत उपलब्ध गराउने घोषणा गरेका छन् । मंगलबार हावाहुरी प्रभावितलाई भेट्न बारा पुगेका सभापति देउवाले उक्त घोषणा गरेका हुन् । यसअघि, उपसभापति विमलेन्द्र निधिले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरिसकेका छन् । सभापति देउवाले हावाहुरीले ज्यान गुमाएकाका परिवारलाई राहत तथा हावाहुरी प्रभावितको उपचार र पुनस्र्थापनाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग समेत गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले हावाहुरीका कारण घाईते भएकाहरुलाई आज बिहानै वीरगञ्जको नारायणी अंचल अस्पतालमा पुगेर भेटेका हुन् ।
देउवाले घाइतेहरुको उपचारमा अझै चुस्तता आवस्यक रहेको भन्दै सरकारले केही चिकित्सक र स्वास्थ्यकर्मीहरु केन्द्रबाट पठाउनु पर्ने आबश्यक देखिएको बताए । उनले आफूले सरकारलाई त्यस्को प्रबन्ध मिलाउन आग्रह गर्ने पनि बताए । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बाराको भलुही भरवलियामा हावाहुरीबाट प्रभावितलाई ब्याल्ङकेट, बाल्टिनलगायतका सामग्री वितरण गरेका छन् ।
यसअघि सोमबार नेपाली कांग्रेसले हावा हुरी प्रभावितहरुलाई संघीय संसदका सांसदहरुको तर्फबाट दुईदिनको तलब दिने निर्णय गरेको थियो । त्यस्तै कांग्रेसले सोमबार नै उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा आफ्ना स्थानीय नेता तथा कार्यकर्ताहरूलाई उद्धार र राहतको कार्यक्रममा लाग्न निर्देशन दिएको थियो ।
आइतबार राति आएका चक्रवातमा परी २९ जनाको मृत्यु भएको छ भने करीव ७ सय घाइते भएका छन् ।

प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार  ७ : २५ बजे