काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो । सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको हो ।
कार्यक्रममा नेता गुरुराज घिमिरेले आफूहरू आक्रोशको चरणमा रहेको बताउदै पार्टी सभापति शेरबहादुर देउवाले आफूहरूलाई पन्छाउन खोजे बिद्रोह हुने चेतावनि दिए । आसन्न निर्वाचनका लागि प्रचण्ड तथा नेपालले माग गरेको सिट संख्याप्रति उनले आक्रोश पोखे ।
उनले कांग्रेसको मतबाट निर्वाचन जित्ने सपना नदेख्न आग्रह गरे ।नेता घिमिरेले कांग्रेसभित्र अब आक्रोशको चरणबाट अन्यायविरुद्ध विद्रोहको चरण सुरु हुने चेतावनी दिए ।
सभालाई सम्बोधन गर्दै नेता मनोजमणी आचार्यले सभापति देउवाले गठबन्धनका नाममा इतर समूहलाई नामेट पार्न खोजेको आरोप लगाए । उनले प्रश्न गर्दै भने – “शेरबहादुर देउवालाई दायाँतिर प्रचण्ड,बायाँतिर माधव नेपाल र उपेन्द्र यादव भए पुग्ने हो ? हामीलाई कि त न्यायोचित वितरण चाहियो नत्र ४० प्रतिशत चाहिन्छ,चाहिन्छ।”
कार्यक्रममा बोल्दै नेता जगदीशनरसिंह केसीले सभापति देउवाले समानुपातिकको सूची एकलौटी रुपमा तयार गरेको दाबी गरे । ‘शेखर पक्षको नाम निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा आठौं र नवौ नम्बरमा मात्र राखिएको छ,’ उनले भने, ‘पालो नआओस् भन्ने सोचका साथ यस्तो सूची बनाएको देखिन्छ।’
उनले समाुनपातिकको सूची नसच्चिए विकल्प सोच्नुपर्ने अबस्था आउन सक्ने चेतवानी पनि दिए । समाुनपातिकको सूची एकपक्षीय रहेको भन्दै उनले सच्याउनु पर्ने बताए । उनले भने, ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ।’ उनले समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समुहलाई अन्याय गरिएको जिकिर गरे। प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उही अबस्था आउनसक्ने सम्भावना देखिएको भन्दै आफ्नो समूहले बाध्य भएर खवरदारीसभामा आयोजना गरेको बताए।
सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । यही क्रममा दबाब दिने उदेश्यले शनिवार भेला आयोजना गरेको नेताहरुको भनाइ छ । शेखर–गगन समूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता–कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ।










