दोलखाका जनताले इतिहास रच्ने दिन आयो: कुन्दनराज काफ्ले



नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले मंसिर ४ मा दोलखाली जनताले नयाँ इतिहास रच्ने बताएका छन् । दोलखा प्रदेश सभा ‘क’को गठबन्धन तर्फबाट साझा उम्मेदवार समेत रहेका काफ्लेले ३० औं वर्षसम्म जनतालाई झुक्याएर एमालेले राज गरेको दोलखामा मंसिर ४ पछि कांग्रेसको विजयसंगै दोलखा कांग्रेसमय हुने दावि गरे ।

शनिबार राजधानीमा आयोजित लोकतान्त्रिक–वाम गठबन्धनको कार्यक्रमलाई संवोधनका क्रममा काफ्लेले भने,‘एमालेले वर्षौ देखि दोलखाका नदिनाला दोहन देखि जडिबुटि तस्कर सम्मको हिसाव किताव जनताले खोज्ने बेला आएको छ । सोझासाझा जनतालाई सधैं झुक्याउने एमालेलाई आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट एमालेलाई जनताले तिरस्कृत गर्नेमा कुनै शंका छैन’ ।

ऐतिहासिक जिरि बजारलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न नसकेको भन्दै काफ्लेले विकासमा दोलखा धेरैपछि पर्नुमा एमाले प्रमुख कारक रहेको दावि गरे ।प्रदेश ‘ख’ का उम्मेदवार बर्मा लामाले विकास कुन पार्टीले गर्न सक्छ भन्ने कुरा चरिकोट देखि जिरिसम्मको सडक हेरे पुग्ने बताए । कांग्रेस जिल्ला सभापति समेत रहेका लामाले चरिकोट जिरि सडकखण्ड कांग्रेस नेता जिपछिरिङ लामाको नेतृत्वमा सम्पन्न भएको भन्दै उनले एमाले नेताहरुको नेतृत्वमा बनेका सडक सञ्जालहरुको विजोग हेर्न सुझाए ।

प्रमुख पर्यटकिय गन्तव्य शैलुलाई पर्यटनको आकर्षणको केन्द्रविन्दुको रुपमा विकास गर्न अव कांग्रेसको विकल्प नभएको उनको भनाई थियो । आदिवासी जनजातिहरुको बाहुल्य रहेको क्षेत्रमा थामी समुदाय, ऐतिहासिक दोलखा बजार र कालिञ्चोक भगवतीलाई एमालेले कमाउ धन्दाको रुपमा प्रयोग गरेको लामाले दावि गरे । अव पनि दोलखामा एमालेलाई जनताले चिन्न नसके विकासमा दोलखा झनै पछि पर्दै जाने बताए । गठबन्धन सहित पार्टीका उम्मेदवार विजयको लागि सवै एकजुट भएर लाग्न समेत लामाले कार्यकर्तालाई निर्देशन दिए ।

प्रकाशित मिति : कार्तिक ६, २०७९ आइतबार  ८ : ४७ बजे