देशकै सबैभन्दा ठुलो प्रशासनिक केन्द्र सिंहदरबार पछिल्ला दिनमा सुरक्षाको दृष्टिकोणले निकै असुरक्षित बन्दै गैरहेको छ । त्यही सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् । गत चैत १ मा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको बा १ ब ९९१३ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल चोरीको आरोपमा पक्राउ पर्नेमा सोही मन्त्रालयका कार्यालय सहयोगी भएको पुष्टी भएको छ । ललितपुर पुल्चोक घर भएका चितवन रत्ननगर नगरपालिका–७ का स्थायी बासिन्दा ३२ वर्षीय रमेश सुनार र उनकै भाइ ३० वर्षीय दिनेश सुनार रहेका छन् ।
मोटरसाइकल चोरी भएपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । सोही क्रममा उक्त मोटरसाइकल दिनेशलाई दिएको खुलेको थियो । र, इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकल सहित दिनेशलाई समेत बिहीबार चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।