मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्किदै विवाद : कुन प्रदेशको नाम के ?



दर्जनौ‌‌ प्रस्ताव, कसरी टुंगिएला विवाद ?
काठमाडौं : संघीयताको कार्यान्वयनसँगै देशका ७ वटै प्रदेशमा संसद र सरकार बनिसकेका छन्। सबै प्रदेशलाई उछिन्दै प्रदेश नम्बर ६ ले आफ्नो नाम र राजधानी टुंगो लगाइसकेको छ। अरु प्रदेश अंकले चिनिइरहँदा उसले आफूलाई कर्णाली प्रदेश नामाकरण गरेको हो।

कर्णाली प्रदेशले अर्को मननयोग्य काम राजधानी छनोटमा पनि गरेको छ। अन्य प्रदेशमा राजधानीका लागि लफडा चलिरहेका बेला प्रदेश ६ ले सुर्खेतको वीरेन्द्रनगरलाई सर्वसम्म राजधानी बनाएको हो।

अन्य प्रदेशमा विवादै विवाद

बाँकी ६ वटा प्रदेशले न प्रदशेको नाम तोक्न सकेका छन् न राजधानी कहाँ राख्ने भन्ने टुङ्ग्याउन सकेका छन्। प्रदेश १, २, ३, ४, ५ र ७ को नाम के राख्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा विवाद जारी छ।

प्रदेश ४ को राजधानी पोखराको विकल्प नभए पनि अन्य प्रदेशका राजधानीको विषयमा ठूलो विवाद छ। प्रदेशको नामाकरण र राजधानी तोक्न प्रदेश सभाको दुईतिहाइ बहुमत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ।

धेरैजसो सांसदहरू भूगोल, सांस्कृतिक तथा ऐतिहासिक पक्ष, राष्ट्रिय पहिचान झल्किने स्थान, नदी र हिमाललाई आधार बनाउनुपर्ने पक्षमा देखिन्छन्। पहिचान पक्षधरहरू भने जात र भाषासहितको आधारमा नाम राख्नु पर्ने पक्षमा देखिन्छन्, भलै पछिल्लो समय पहिचान पक्षधरको आवाज कमजोर हुँदै गएको छ।

प्रदेश १
प्रदेशको नामकरण र राजधानीको विषयमा यो प्रदेशमा ठूलो मतान्तर छ। पहिचानवादी लिम्बुवान, खुम्बुवान र किरात प्रदेश राख्नुपर्ने पक्षमा छन्। किरात राई यायोख्खासहितका संगठनले प्रदेश १ को नाम किरात प्रदेश राख्न माग गर्दै मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र नै बुझाइसकेका छन्।

भूगोलका आधारमा कोशी, सगरमाथा, विराट, सिरिजंगादेखि विजयपुरसम्मको नाम चर्चामा छन्। प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो ‘मौसम’ प्रदेशको नाम र राजधानीबारे प्रदेश सभामा प्रारम्भिक छलफल मात्रै भएको बताउँछन्।

प्रदेश नाम : सगरमाथा, कोशी, विराट
राजधानी : इटहरी, विराटनगर, धनकुटा, धरान

पाँचथर ‘ख’ का प्रदेश सभा सदस्य समेत रहेका आङबो सबै पार्टीको समझदारीमा प्रदेशको नामाङ्कन गरिने बताउँछन्। माओवादी केन्द्रका नेता समेत रहेका आङ्बो भन्छन्, ‘पहिला पार्टीभित्रै समझदारी गर्छौँ, त्यसपछि प्रदेश सभामा लग्छौँ र सर्वसम्मत नाम राख्छौँ।’

प्रदेशको नाम र राजधानीका धेरै नाम आएको उनी स्वीकार्छन्। राजधानीका लागि विराटनगर, इटहरी, धरान र धनकुटाबाट ब्यापक लबिङ भइरहेको छ। सबैका लागि इटहरी केन्द्रबिन्दु भएपनि अस्थायी राजधानी विराटनगर तोकिएकाले मुख्यमन्त्री शेरधन राईको सरकारलाई राजधानी सार्न धेरै समस्या हुने अवस्था छ।

प्रदेश १ मा वामगठबन्धनको दुईतिहाइ भए पनि उनीहरूमै नामाकरण र राजधानीबारे मत बाझिएको छ। प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सबैलाई मान्य हुने गरी प्रदेशसभाले नाम र राजधानी तोक्ने बताउँछन्।

प्रदेश २
मधेसी गठनबन्धनको सरकार रहेको प्रदेश २ को नाम के राख्ने भन्ने विषयमा पनि बहस जारी छ। प्रदेश २ को नाम जनकपुर, मिथिला, भोजपुर वा मधेस राख्नेबारे चर्चा चलिरहेको छ।

मधेसवादी दलहरू प्रदेश २ को नाम मधेस राख्ने पक्षमा छन्। प्रदेश सभा सदस्य एवम् राजपाका महासचिव मनिष सुमन प्रदेशको नाम मधेस, राजधानी जनकपुर र भाषा बहुभाषिक हुनुपर्ने आफ्नो प्रस्ताव रहेको बताउँछन्।

प्रदेश : मधेश, मिथिला, भोजपुर, जनकपुर
राजधानी : जनकपुर वा वीरगन्ज

राजपा र फोरमको केन्द्रीय कमिटीले नै प्रदेशको नाम र राजधानी टुङ्गो लगाउने पक्षमा उनी छन्। ‘फोरम र राजपाले आफ्ना सांसद्‌लाई नाम, राजधानीबारे निर्देशित गर्नु पर्ने हो तर कसैको ध्यान त्यता गएकै छैन’, उनले भने, ‘सबै केन्द्रीय नेताको ध्यान काठमाडौँतिर छ।’

राजधानीको विकल्प खोजिँदै
राजधानीबारे प्रदेश २ मा पनि विवाद छ। अस्थायी राजधानी जनकपुर तोकिएकोमा वीरगन्जबाट विरोध हुँदै आएको छ। प्रदेश २ को सत्तारुढ पार्टी संघीय समाजवादी फोरमले जनकपुर र वीरगन्जको विकल्पका रुपमा अन्य ठाउँमा राजधानी खोज्ने प्रयत्न गरिरहेको छ।

धनुषाको ढल्केवर वा महोत्तरीको बर्दिबासलाई राजधानी बनाउने विषयमा फोरममा चर्चा चलेको छ। राजपा महासचिव एवम् प्रदेश सभा सदस्य सुमन राजधानीका लागि जनकपुरको विकल्प नरहेको बताउँछन्।

प्रदेश ३
प्रदेश ३ को राजधानी र नामका विषयमा ठूलो बहस हुने देखिएको छ। बागमती, नारायणी, पशुपति, स्वयम्भू, गौरीशंकर, नेपाल मण्डल लगायत नाम चर्चामा छन्।

पहिचान पक्षधरले नेवाः र ताम्सालिङको नाम समेत चर्चामा ल्याएका छन्। उता एमालेका प्रदेश सभा सदस्य डा. अजयक्रान्ति शाक्यले प्रदेशको नाम ‘नेपाल मण्डल’ राख्न औपचारिक प्रस्ताव नै ल्याएका छन्। पार्टी भित्र प्रदेश ३ को नाम नेपाल मण्डल राख्न उनले प्रस्ताव पेश गरेका छन्।

प्रदेश : बागमती, नारायणी, गौरीशंकर, पशुपति, स्वयम्भू, ‘नेपाल मण्डल’
राजधानी : हेटौंडा, भक्तपुर, बनेपा

नेपाल मण्डलबारे चर्चा
काठमाडौं क्षेत्र ९ ‘क’ बाट निर्वाचित एमाले सांसद शाक्य ऐतिहासिक, सांस्कृतिक, धार्मिक र सामाजिक महत्व रहेकोले यो प्रदेशको नाम ‘नेपाल मण्डल’ राख्नु उपयुक्त हुने तर्क गर्छन्। शाक्यका अनुसार इस्वीको तेस्रो शताब्दीताकाको मानिने ‘आर्य महामञ्जुश्री मूलकल्प’ बौद्धग्रन्थको श्लोक नं ५०२ र ५०३ मा ‘नेपाल मण्डल’ शब्दको प्रयोग छ।

‘नेपालका प्राचीन अभिलेखहरुमा ‘नेपाल मण्डल’ नाम आठौं शताब्दीदेखि निरन्तर प्रयोग हुँदै आएको पाइन्छ,’ शाक्यले भने, ‘लिच्छविकालको अभिलेखमा उल्लेख भएअनुसार नेपाल मण्डलको फैलावट पूर्वमा कुशेश्वर सुनकोशी, सिन्धुली, पश्चिममा केवलपुर (धादिङ), उत्तरमा रसुवापारि केरुङ र दक्षिणमा टिस्टुङ (मकवानपुर) सम्म थियो। तसर्थ वर्तमान ३ नं प्रदेश ऐतिहासिक हिसाबले नेपाल मण्डल हो।’ प्रदेश ३ को राजधानीका विषयमा चरम विवाद छ। अस्थायी राजधानी हेटौंडा तोकिएपनि भक्तपुर र बनेपाको चर्को लविङ छ। ललितपुरको नाम पनि चर्चामा छ।

प्रदेश ४
प्रदेशको राजधानीमा कुनै विवाद नभए पनि प्रदेश ४ मा नामका विषयमा चर्को मतान्तर छ। पृथ्वीनारायण प्रदेश, हिमालय प्रदेश, गण्डक, सप्तगण्डकी, गोरखा, धौलागिरी, गण्डकी– धौलागिरी, तमुवान–मगरात, माछापुच्छ्रे, अन्नपूर्ण, मुक्तिनाथ, शालिग्राम, देवघाट र सुस्ता लगायतका नाम यहाँ चर्चामा छन्।

प्रदेश ४ को राजधानी पोखरा हुने भने निश्चित छ। प्रदेश सभा सदस्य विकास लम्साल १५/२० वटा नामको चर्चा भइरहेको बताउँछन्। उनले प्रदेश सभाले नाम सुन्दै जाँउ जाँउ लाग्ने र सबैको चित्त बुझ्ने गरी सर्वसम्मत निर्णय हुने बताउँछन्।

प्रदेश : अन्नपूर्ण, गोरखा, गण्डक, हिमालय
राजधानी : पोखरा

‘१५/२० नाम आएका छन्, त्यसमा प्रदेश सभामा गम्भीर छलफल हुन्छ र सर्वसम्मत ढंगबाट नामाकरण गरिनेछ’, उनी भन्छन्, ‘पहिले संसदको नियमावली पास गर्छौँ र त्यसपछि नामको विषयले प्रवेश पाउँछ।’ ऐतिहासिक थाकथलो, राष्ट्रिय पहिचान, नदी नाला, हिमालयको नामबाट प्रदेशको राख्नु पर्ने बताउँछन्। प्रदेश राजधानी पोखराका विषयमा भने प्रदेश ४ मा विवाद नरहेको उनी बताउँछन्।

प्रदेश ५
नवलपरासीदेखि बर्दियासम्म फैलिएको प्रदेश नम्बरमा समेत प्रदेशको नाम र राजधानीको विषय गरमागर्मी छ। गौतम बुद्ध, लुम्बिनी, स्वर्गद्धारी, थारुवान, थारुहट र मगरात लगायत नामको चर्चा छ।

लुम्बिनी वा गौतम बुद्ध प्रदेशमध्ये एकमा सर्वसम्मत हुन सक्ने सम्भावना छ। प्रदेश सभा सदस्य आईपी खरेल नाम ठूलो विवाद नहुने बताउँदै राजधानीमा भने चर्को बहस रहेको बताउँछन्।

अस्थायी राजधानी बुटवल तोकिएको छ। तर दाङले पनि आफ्नो दावी छोडिसकेको छैन। बुटवल र दाङबीच राजधानीका लागि व्यापक लविङ भइरहेको नेताहरू बताउँछन्। उता नेपालगन्जले पनि राजधानीमा दावी गरेको छ। प्रदेश सभा सदस्य खरेल प्रदेशको नाम र राजधानी प्याकेजमा टुङ्ग्याउनु पर्ने बताउँछन्। नामको विषयमा बहस सुरु भएको उनले बताए।

प्रदेश : लुम्बिनी, गौतमबुद्ध
राजधानी : दाङ, बुटवल, नेपालगन्ज

प्रदेशको नाम गौतम बुद्ध राख्न उनको प्रस्ताव छ। उनले लुम्बिनी राख्दा एउटा अञ्चलको मात्र कुरा हुने भएकोले अन्तर्राष्ट्रिय पहिचानको लागि समेत प्रदेशको नाम गौतम बुद्ध राख्नु उपयुक्त हुने उनी बताउँछन्। बुटवल राजधानी राखिए प्रदेश ५ टुक्रिने उनको चेतावनी छ। भन्छन्, ‘राजधानी बुटवल हुँदैन, सबैलाई पायक पर्ने स्थानमा हुनुपर्छ, होइन भने प्रदेश राख्ने वा फुटाउने कुरा हुन्छ।’

प्रदेशको नाम र राजधानीको विषयमा मुख्यमन्त्री शंकर पोखरेल, सभामुख पूर्णबहादुर घर्ति, आन्तरिक मामला मन्त्री कुलप्रसाद केसी समक्ष प्रस्ताव राखिसकेको खरेल बताउँछन्।

कर्णाली प्रदेश
अन्य प्रदेश अंकले चिनिइरहँदा प्रदेश ६ ले भने आफ्नो नाम कर्णाली जुराइसकेको छ। प्रदेश सभाको अत्याधिक मतले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत अनुमोदन गरेको छ। समाजिक विकास मन्त्री दलबहादुर रावल प्रदेशको नाम र राजधानी तोक्न पहिलो बने जस्तै विकास र समृद्धिमा पनि पहिलो बन्ने उद्देश्यमा अघि बढेको बताउँछन्।

प्रदेश ७
सुदूरपश्चिम मुलुकमा एउटा मात्र यस्तो विकास क्षेत्र हो जसलाई जस्ताको तस्तै प्रदेशमा रुपान्तरण गरिएको छ। सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका ९ वटै जिल्ला समेटर प्रदेश ७ बनाइएको हो। सुदुरपश्चिमको एकमाना एकताको कारण त्यो सम्भव भएको हो।

सुदुरपश्चिमलाई एउटै प्रदेश बनाउन सहज भएपनि नाम र राजधानीबारे भने यहाँ विवाद छ। प्रदेश ७ को नाम सुदुरपश्चिम नै राख्ने सम्भावना त्यतिकै छ। सुदूरपश्चिमका साथै सेती, महाकाली, सेती-महाकाली र खप्तड नाम चर्चामा छन्।

प्रदेश सभा सदस्य वीरमान चौधरी प्रदेशको नाम र राजधानीका बारेमा बाहिर चर्चा भए पनि संसदमा यी विषयले प्रवेश नपाएको बताउँछन्। अन्तरिम नियमावली पास गरेपछि मात्रै प्रदेशको नाम र राजधानीको विषयमा संसदमा बहस हुने उनको भनाई छ। प्रदेश ७ मा फागुन २६ गते अन्तरिम नियमावली पारित गर्ने तयारी छ।

प्रदेश : सुदुरपश्चिम, सेती-महाकाली, खप्तड
राजधानी : धनगढी, दिपायल, अत्तरिया

‘अहिले पनि नाम र राजधानीको विषय प्रदेश सभामा प्रवेश गरेको छैन, चर्चा पनि भएको छैन’, उनी भन्छन्, ‘अन्तरिम नियमावली पास गरेपछि मात्रै अन्य विषयमा छलफल हुन्छ।’

प्रदेश ७ को राजधानीमा कैलालीको धनगढी र डोटीको दिपायल कहाँ राख्ने भन्ने विवाद छ। पहाडका मुख्यमन्त्री भए तराई राजधानी र तराईको मुख्यमन्त्री भए पहाड राजधानी भन्ने चर्चा समेत यहाँ सुनिन्छ। डोटीका त्रिलोचन भट्ट मुख्यमन्त्री भएपछि धनगढी नै स्थायी राजधानी हुने प्रबल सम्भावना छ। अन्नपूर्ण पोस्ट

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहिबार  २ : ०३ बजे