मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारत भ्रमण सद्भावना भ्रमण मात्र हो-प्रधानमन्त्री केपी शर्मा ओली



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्भावना भ्रमण भएको बताएका छन्।

आज बिहान बालुवाटारमा पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पारे।

‘यसपालीको भ्रमणमा कुनै सन्धि-सम्झौता हुँदैन। देशको अहितमा कुनै काम गरिँदैन। विगतका सन्धि-सम्झौता कार्यान्वयनमा जोड दिइनेछ’, प्रधानमन्त्री ओलीले भने, ‘यस भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी उपस्थित थिए।

पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिएका थिए। उनीहरुले दुई देशबीचको सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने धारणा राखेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थिर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिए। पूर्वप्रधानमन्त्री दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला असहज बनेको नेपाल-भारत सम्बन्ध अहिले सुधार भएको बताएका थिए।

‘भारतलाई हामीले संविधान कार्यान्वयनमा गइसक्यो, खास समस्या छैन भनेर बुझाउनुपर्छ’, उनले भने।

यस्तै, पूर्वप्रधानमन्त्री देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकाले यसलाई उकास्ने विषयमा छलफल केन्द्रित गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्री र प्रधानमन्त्री ओलीबीचको छलफलमा पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको पनि उपस्थिति थियो।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार  ९ : ३१ बजे