मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा बैठकले तोक्यो स्थानीय तहका पदाधिकारीको सेवासुविधा



निर्वाचित भएको झन्डै एक वर्षपछि ४ नम्बर प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक तलब  र अन्य सेवासुविधा पाउने भएका छन् । प्रदेश नम्बर ४ को अस्थायी मुकाम पोखरामा आज बसेको प्रदेशसभा बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतीले पारित गरेको हो । स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएसंगै सेवासुविधाको बाटो खुलेको हो ।

प्रदेश सभाको गत १२ गतेको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले पेश गरेको विधेयक सैद्धान्तिक छलफल पछि चैत १६ को बैठकले दफावार छलफलका लागि विधायन समितिमा पठाएको थियो । विधायन समितिले सेवा सुविधामा केही हेरफेर गरी प्रतिवेदन सहित गत बुधबारको प्रदेशसभा बैठकमा पेश गरेकोमा त्यसलाई जस्ताको त्यस्तै आज पारित गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुखलाई मासिक ३८ हजार र दैनिक भ्रमण भत्ता एक हजार ८ सय, उपप्रमुख ३० हजार र दैनिक भ्रमण भत्ता १ हजार ६ सय, महानगरपालिका प्रमुखले मासिक ४३ हजार, दैनिक भ्रमणभत्ता २ हजार पाउने छन् । यस्तै, उपप्रमुखले मासिक ३८ हजार र दैनिक भ्रमणभत्ता १ हजार ८ सय, नगरपालिका प्रमुखले मासिक ३५ हजार र दैनिक  भ्रमणभत्ता १ हजार ८ सय, उपप्रमुखको मासिक ३० हजार र दैनिक भ्रमणभत्ता १ हजार ६ सय, गाउँपालिका अध्यक्षको मासिक ३१ हजार र दैनिक भ्रमणभत्ता १ हजार ६ सय, उपाध्यक्षको मासिक २६ हजार र दैनिक भ्रमणभत्ता १ हजार ५ सय तोकिएको छ ।

बैठकले सरकारको ऐनको प्रमाणीकरण कार्यविधि, प्रदेशसभाद्वारा पारित प्रस्तावको प्रमाणीकरण, अध्यादेश प्रमाणीकरणको कार्यविधि, प्रदेश प्रमुखबाट जारी हुने आदेश अधिकार पत्र, सूचनाको प्रमाणीकरण, नियम आदेश तथा अधिकारपत्रको प्रमाणीकरण सम्बन्धी विधयेक सर्वसम्मत पारित गरेको छ । यस्तै, अन्य सार्वजनिक लिखितको प्रमाणीकरण, प्रदेश राजपत्रमा प्रकाशन गर्ने, दण्ड सजाय लगायत १५ दफा समेटेर पेश गरेको प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको वियधेक पनि सर्वसम्मतीले पारित गरेको छ । प्रदेश ४ मा ११ जिल्ला समन्वय समिति, १  महानगरपालिका, २६ नगरपालिका, ५८ गाउँपालिका र ७ सय ५९ वडा छन् ।

स्थानीय तहमा कसलाई कति 

जिल्ला समन्वय समितिका प्रमुख– मासिक ३८ हजार र दैनिक भ्रमण भत्ता  १८ सय

उपप्रमुख– ३० हजार र दैनिक भ्रमणभत्ता १६ सय

सदस्यहरु– ११ हजार र दैनिक भ्रमणभत्ता १५ सय

महानगरपालिका प्रमुख– मासिक ४३ हजार, दैनिक भ्रमणभत्ता २ हजार,

उपप्रमुख– मासिक ३८ हजार र दैनिक भ्रमणभत्ता १८ सय

वडाध्यक्ष– मासिक २५ हजार र दैनिक भ्रमणभत्ता १५ सय

कार्यपालिका सदस्य– मासिक १२ हजार ५ सय र दैनिक भ्रमणभत्ता १५ सय

सभाका सदस्य– मासिक ८ हजार ३ सय ५० र दैनिक भ्रमणभत्ता १५ सय

नगरपालिका प्रमुख– मासिक ३५ हजार र दैनिक  भ्रमणभत्ता १८ सय

उपप्रमुख– मासिक ३० हजार र दैनिक भ्रमणभत्ता १६ सय

वडाध्यक्ष– मासिक २० हजार र दैनिक भ्रमणभत्ता १५ सय

कार्यपालिका सदस्य– मासिक १० हजार र दैनिक भ्रमणभत्ता १५ सय

सभाका सदस्य– मासिक ७ हजार र दैनिक भ्रमणभत्ता १५ सय

गाउँपालिका अध्यक्ष– मासिक ३१ हजार र दैनिक भ्रमणभत्ता १६ सय

उपाध्यक्ष– मासिक २६ हजार र दैनिक भ्रमणभत्ता १५ सय

वडाध्यक्ष– मासिक १८ हजार र दैनिक भ्रमणभत्ता १४ सय

कार्यपालिका सदस्य– मासिक ९ हजार र दैनिक भ्रमणभत्ता १४ सय

सभाका सदस्य– मासिक ६ हजार र दैनिक भ्रमणभत्ता १४ सय

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार  १२ : २८ बजे