मस्को । अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ । फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो ।
डुमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले अन्तरराष्ट्रिय मूल्यमान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको शनिबार बताए । अर्का उपाध्यक्ष युरी शभयत्कीनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउनेगरी आक्रमण भएको टिप्पणी गरे।
फ्रान्स, बेलायत र अमेरिकाको अहिलेको संयुक्त आक्रमणले रुससँगको सकारात्मक सम्वन्ध बनाउन कुनै फाइदा नगर्ने उनको भनाइ छ ।
रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् सिरियामा भएको आक्रमणको निन्दा गरेका छन् ।
त्यस्तै चीनले पनि सिरियामाथि पश्चिमा देशको आक्रमण अन्तराष्ट्रिय कानुनको उल्लंघन भएको बताएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता हुआ च्युनिङले चीन अन्तर्राष्ट्रिय सम्वन्धमा बलको प्रयोग, राष्ट्रसंघ सुरक्षा परिषद्को सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको विरोधमा रहने बताएका छन् ।
इरान र रुसले पनि सिरियामाथि भएको आक्रमणको विरोध गरेका छन्