काठमाडौं । काठमाडौं उपत्यकाबाट बडा दशैँ मनाउन १० लाखभन्दा बढी नागरिक आ(आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
यस वर्षको दशैँ अवधिमा देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ र सामान्य रहेको नेपाल प्रहरीले जनाएको हो । बडा दशैँको महानवमीका दिनसम्म उपत्यकाबाट सार्वजनिक बस, निजी सवारी तथा दुई पाङ्ग्रे साधनमार्फत बाहिरिने नागरिकको सङ्ख्या १० लाख नाघेको नेपाल प्रहरीको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा रहेका कारण हालसम्म कुनै ठूला दुर्घटना वा गम्भीर प्रकृतिका आपराधिक घटना नघटेको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै देशभर शान्ति सुरक्षाको अवस्था मजबुत रहेको र नागरिकहरू सुरक्षित तवरले आ(आफ्नो घर पुग्ने क्रम जारी रहेको बताउनु भयो ।
दशैँमा यात्रुहरूको सहजता र सुरक्षाका लागि देशभर ४०८ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको र ती कक्षहरू २४ सै घण्टा सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । ती सहायता कक्षहरूमा ट्राफिक प्रहरीसहित अन्य सुरक्षाकर्मी परिचालन गरिएका छन्, जसले यात्रुहरूका समस्या र गुनासो तत्काल सम्बोधन गरिरहेका छन् । प्रवक्ता काफ्लेकाअनुसार प्रहरीले यस पटक ‘यदि केही देख्नुहुन्छ भने, केही भन्नुहोस्’ भन्ने अवधारणा अनुरूप नागरिक सहभागितामूलक विशेष सुरक्षा अभियान सञ्चालन गरेको छ ।
प्रहरीले चाडपर्वको समयमा कुनैपनि अस्वाभाविक, शंकास्पद वा आकस्मिक गतिविधि देखिए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा तुरुन्त खबर गरी अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न सहयोग पुर्याउन आम नागरिकलाई पुनः अनुरोध गरेको छ ।
नेपाल प्रहरीले दशैँ, तिहार, छठ तथा नेपाल संवत लगायतका चाडपर्वहरूलाई लक्षित गरी देशभर ५० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरेको छ ।
चाडबाडका बेला हुनसक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, यात्रुहरूको सुरक्षा तथा दुर्घटना न्युनिकरणका लागि सीमावर्ती क्षेत्र, राजमार्ग र प्रमुख शहरहरूमा विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेकाअनुसार चाडपर्व मनाउन घर फर्किने नागरिकलाई ठगी, लुटपाट तथा अन्य आपराधिक क्रियाकलापबाट जोगाउन देशभरका सीमावर्ती क्षेत्रका १०८ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । उक्त सहायता कक्षहरूबाट २४ सै घण्टा नागरिकलाई सेवा तथा सुरक्षा सहजीकरण प्रदान भइरहेको छ ।
यसैगरी, चाडपर्वको समयमा राजमार्गहरूमा हुने सडक दुर्घटना न्युनिकरण गर्न प्रहरीले सूचनामा आधारित विशेष जाँच प्रणाली लागू गरेको छ । यात्रुवाहक सवारीसाधन छुट्ने प्रमुख प्रस्थानबिन्दुहरूमा नै चालकको अनुमतिपत्र, लागुपदार्थ सेवन ९लापसे० तथा मादक पदार्थ सेवन ९मापसे० को कडा जाँच शुरु गरिएको छ ।
लामो दूरीका सवारीसाधनमा अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने कानूनी प्रावधानलाई कडाइका साथ कार्यान्वयन गराउन ट्राफिक प्रहरी सक्रिय रहेको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।










