मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘बाजेको सेकुवा’का सञ्चालक पनि तानिए ३३ किलो सुन तस्करीको छानबिनमा



काठमाडौं– ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धानमा चर्चित चेन रेस्टुरेन्ट ‘बाजेको सेकुवा’का सञ्चालक पनि छानबिनमा तानिएका छन्। सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेस्टुरेन्टका सञ्चालक चेतन भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का राख्न पत्राचार गरेको छ।

विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन र सो सुन हराएपछि सनम शाक्यको हत्या घटनाको अनुसन्धानका क्रममा तस्करीको गिरोहमा भण्डारीको समेत संलग्नताको प्रमाणहरु भेटिएको प्रहरी स्रोतले जनाएको छ। भण्डारी सो गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’का आफन्त हुन्। 

सो समूहले विगत ५ वर्षयता विमानस्थलमा सेटिङ मिलाई ठूलो मात्रामा सुन तस्करी गर्दै आएको थियो। त्यसरी तस्करी हुने सुनमा सुन पसलेदेखि धेरै जनाको साझेदारी हुने गरेको थियो। बाजेको सेकुवा रेस्टुरेन्टका सञ्चालकको पनि त्यसमा साझेदारी रहेको स्रोतले जनाएको छ। भण्डारी तस्करीमा प्रत्यक्ष रुपमा संलग्न नभई उप्रेतीलाई तस्करीका लागि लगानी गरेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए। स्रोतका अनुसार भण्डारी उप्रेतीका भान्जा नाता पर्छन्।

गृह मन्त्रालयले सहसचिव ईश्वचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाको अनुसन्धान गरिरहेको छ। सनम हत्या तथा तस्करीमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। केही ‘हाइप्रोफाइल’ व्यक्तिहरुको समेत तस्करीमा संलग्न गिरोहसँग संलग्नता देखिएको स्रोत बताउँछ।

सो समूहले विमानस्थलमा कार्यरत विभिन्न एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर लगेजमा सुन तस्करी गर्दै आएका थिए। थाई र नेपाल एयरलाइन्सका कर्मचारीहरुसँग उनीहरुको सेटिङ थियो। थाई एयरलाइन्सका ८ तथा नेपाल एयरलाइन्सका ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। तस्करीमा संलग्न नेपाल एयरलाइन्सका लोडर प्रेमलाल चौधरीले पक्राउ परेलगत्तै प्रहरी हिरासतमै आत्महत्या गरिसकेको छन्।

तस्करीको ३३ किलो सुन काठमाडौंबाट विराटनगर लैजाने क्रममा गत माघमा हराएको थियो।  सुन लुकाउनेहरुसँग मिलेको आशंकामा शाक्यलाई नियन्त्रणमा लिई सोही गिरोहका व्यक्तिहरुले कुरा खोल्न करेन्ट लगाएका थिए। त्यही क्रममा उनको मृत्यु भएको थियो। मृत्यु भएपछि चारकोशे झाँडीमा शव लुकाउन लैजाँदै गर्दा फागुन १९ मा महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंबाट खटिएको टोलीले गाडिभित्रै शव बरामद गरी मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरीलाई पक्राउ गरेको थियो। हत्या गरिएका शाक्य सोही समूहमा एकाउन्टेन्टका रुपमा कार्यरत थिए।

घटनामा संलग्न राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पनि पक्राउ परिसकेका छन्। उनै गुरुङले तस्करीका लागि विमानस्थलमा सेटिङ मिलाएका थिए। उनी २० वर्षअघि एयरपोर्टमा संगठित रुपमा सुन तस्करी गर्ने गिरोहमा आबद्ध व्यक्ति हुन्।

त्यस्तै, भारतीय व्यापारी महावीर गोल्यानसहित प्रहरीले बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, राजन थापा, लालबहादुर मगर र राजु महर्जनलाई पक्राउ गरिसकेको छ। आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय मातादी गोल्ड प्यालेसका पवन अग्रवाल पनि पक्राउ परिसकेका छन्।

त्यस्तै, हत्यामा सहयोगी भूमिका खेल्ने लाक्पा शेर्पा र मदन घिमिरे समेत मोरङ प्रहरीको हिरासतमा छन्। पक्राउ परेका उपर मोरङ प्रहरीले कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले तस्करीमा संलग्न रहेको भन्दै बाजेको सेकुवा रेस्टुरेन्टका सञ्चालक भण्डारीसहित मोहन अग्रवाल, रमेश उप्रेती, नर्वदा खरेल उप्रेती, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया, भविन राई (भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम  लगायतको बैंक खाता तथा सम्पती रोक्का राखेको छ।

सो घटनाको अनुसन्धानमा मुख्य अभियुक्तलाई जोगाएको आरोपमा अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई त्यहाँबाट हटाएर गृह मन्त्रालयले छानबिन गरिरहेको छ।

छानबिन गर्ने क्रममा विमानस्थलबाट लामो समयदेखि संगठित रुपमा सुन तस्करी हुँदै आएको रहस्य समेत खुलेको छ।

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलबार  ९ : ११ बजे