मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ मा नेकपाभित्र नेतृत्वको विवादले उग्ररुप लिँदै



काठमाडौं भदौ, २२–
प्रदिप सत्याल

जिल्ला तहको एकिकिरणमा नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र विवाद चर्किन थालेको छ । मुख्य गरेर पूर्व एमाले भित्र नेतृत्व चयनको बिषयमा विवाद उग्र बन्न थालेको छ । प्रदेश ५ मा निकै उत्कर्षमा पुगेको नेतृत्वको विवाद क्रमशः अब अरु प्रदेशमा पनि देखा पर्न थालेको छ । मुख्य गरेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र तत्कालिन एमालेमा वरिष्ठ नेताको रुपमा रहेका माधव नेपाल पक्षधरहरुबीच यस्तो विवाद देखिएको हो । प्रदेश १ को अध्यक्षमा नाम सिफारिस गर्दा नेतृत्वले धोखाधडी गरेको भन्दै विवाद चर्किएको छ । प्रदेशको अध्यक्षमा तत्कालीन माओवादीले दाबी नगरेपछि तत्कालीन एमालेभित्रका करीव आधा दर्जन आकांक्षी देखिएका थिए ।

प्रदेश १ को पार्टी एकीकरण कार्यदलमा तत्कालीन एमालेबाट प्रदेश संयोजक भीम अचार्य र शेरधन राई थिए । पार्टीभित्रको विगतको समीकरणमा भीम आचार्य माधव नेपाल र झलनाथ खनाल समूहका हुन् भने मुख्यमन्त्रीसमेत रहेका राई केपी ओलीनिकटका नेता हुन् ।

प्रदेश १ को अध्यक्षमा जगन्नाथ खतिवडा, घनेन्द्र बस्नेत, देवराज घिमिरे, राजेन्द्र गौतम, नरेश खरेल र जयन्ती राईको नाम चर्चामा आएको थियो । तर, कार्यदलले प्रतिवेदन बुझाउने बेलामा अध्यक्षका लागि घनेन्द्र बस्नेत र देवराज घिमिरेकोमात्रै नाम सिफारिस गरिएको भन्दै विवाद चर्किएको छ ।

सिफारिस भएका दुवै नेताहरु ओलीनिकट हुन् । उनीहरुको नाम नेपाल समूहका भीम आचार्यकै प्रस्तावमा सिफारिस गरिएको स्रोतले जनाएको छ ।

प्रदेश अध्यक्षका लागि माधव नेपाल पक्षले जगन्नाथ खतिवडाको नाम अघि सारेको थियो । तत्कालीन एमालेको पोलिटब्यूरो सदस्यसमेत भएका सिनियर नेता खतिवडालाई अध्यक्षमा सिफारिस गर्न नेपाल स्वयंले भीम आचार्यलाई टेलिफोनबाट निर्देशन दिएको नेपालनिकट स्रोतले जनाएको छ ।

कार्यदलमा अर्का नेता प्रदेश मुख्यमन्त्री राईले ‘जगन्नाथजीको पनि अध्यक्ष बन्ने इच्छा छ, उहाँको पनि नाम पठाउँ न त’ भन्दा आचार्यले अश्वीकार गरेको स्रोतले जनाएको छ । आफ्नै समूहका नेताको धोखाधडीका कारण अध्यक्ष अर्को पक्षमा गएको र योग्य व्यक्तिमाथि अन्याय भएको भन्दै नेपाल समूहभित्रै असन्तुष्टि देखिएको छ ।

भीम आचार्य तत्कालीन एमालेको नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाटै सचिवमा विजयी बनेका थिए । उनी मुख्यमन्त्री बन्न भनेर प्रदेशसभा चुनाव लडे र प्रदेशको सांसद बने । ओलीनिकटका शेरधन राईसँग प्रदेशसभा संसदीय दलको नेतामा चुनाव हारेपछि आचार्यको मुख्यमन्त्री बन्ने बाटो बन्द भयो ।

अहिले आएर आचार्यले अध्यक्षका लागि दुबै ओलीनिकटकै सिफारिस गरेर माधव नेपालसँग बदला लिएको टिप्पणी आचार्यनिकट कार्यकर्ताले गरेका छन् । नेपालले फोनमा जगन्नाथ खतिवडाका लागि कडा निर्देशन दिँदासमेत आचार्यले अश्वीकार गरेको गुनासो खतिवडा निकट नेताहरुको छ ।

आचार्यलाई मुख्यमन्त्री बन्न नदिन माधव नेपाल पक्षका नेताहरुले नै भूमिका खेलेकाले अहिले उनले बदला लिएको दाबी गरिएको छ । प्रदेश १ को तत्कालीन एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत हुँदाहुँदै पनि नेपाल पक्षकै नेताहरुले शेरधन राईलाई सघाएर आचार्यलाई हराएको आरोप छ ।

जगन्नाथ खतिवडाकै सल्लाहमा जीवन घिमिरेलगायतका नेताले आचार्यलाई असहयोग गरेपछि उनी मुख्यमन्त्री बन्न नपाएकाले अहिले बदला लिइएको दाबी प्रदेशका नेताहरुको छ ।

उदयपुर–१ बाट खतिवडाले टिकट पाउने भएपछि सो क्षेत्र नै माओवादीलाई दिन आचार्यले भूमिका खेलेको आरोप छ । आफूसँग प्रतिस्पर्धामा आउन सक्ने नेतालाई तलै सिध्याउने नीतिअनुसार आचार्यले जगन्नाथ खतिवडा, रेवतीरमण भण्डारी लगायतका नेतालाई टिकटबाटै बञ्चित गरेको र अहिले प्रदेश अध्यक्ष बन्न नदिएको आरोप छ ।

आचार्यले भने आफूमाथि झलनाथ खनाल, माधव नेपाल, केपी ओलीलगायतका नेताले पटक–पटक अन्याय गरेकाले कसैले भनेको मान्न जरुरी नभएको बताउन थालेका छन् । खनालले मन्त्रीबाट बिनाकारण हटाएको र माधव नेपालले मुख्यमन्त्री बन्न नदिएको भन्दै आचार्यले आफू कुनै गुटमा नरहेको प्रतिक्रिया निकटस्थलाई दिएका छन् ।

आचार्य अहिले पनि नेकपाको स्थायी कमिटी सदस्य छन् । उनी सम्भवतः प्रदेश १ को इञ्चार्ज बन्नेछन् । ओलीनिकट नेतालाई प्रदेशको अध्यक्षमा सिफारिस गरेर इञ्चार्ज पद सुरक्षित गर्न खोजेको आरोप पनि उनीमाथि लागेको छ ।

जिल्ला कमिटी बाँडफाँटमा पनि ओली पक्षका अध्यक्ष हुने ८ जिल्लामा टुंगो लाएर अन्य जिल्ला विवादित बनाएको आरोप समेत उनीमाथि छ । ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, ताप्लेजुङ र सुनसरीको नेतृत्व कसले गर्ने भन्ने टुंगो नलगाई कार्यदलले प्रतिवेदन महासचिव बिष्णु पौडेललाई बुझाएको छ । बाँडफाँट टुंगिएका पाँचथर, इलाम, झापा, मोरङ, धनकुटामा ओलीनिकट अध्यक्ष हुँदैछन् ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार  ६ : २६ बजे