बालिका ले प्रतिकार गर्दा बलत्कार गर्न खोज्ने बृद्दको मृत्यु



रामेछाप–
तेह्र वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा बालिकाले हानेको रडले ६५ वर्षीय हजुरबुवाको ज्यान गएको छ । ज्यान जानेमा रामेछाप नगरपालिका वडा नम्बर –७, मुढाजोरका ६५ वर्षीय हजुरबुवा रहेका छन् ।आफूलाई जबर्जस्ती गर्न खोजेपछि नातिनी पर्ने १३ वर्षीया बालिकाले हानेको रडले लागेर उनको ज्यान गएको हो ।

बिहीबार बिहान घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी नातिनीलाई हजुरबुवा पर्नेले नै जबर्जस्ती गर्न खोजेका हुन् । बालिका हात फुत्काएर भाग्न सफल भएकी थिइन् । त्यसपछि बालिकाले आफ्नो घरमा आएर फलामको रड लिएर पूनः हजुरबुवाको घरतर्फ गइन् ।

उनको घरमा पुग्नेबित्तिकै बालिकाले हजुरबुवालाई रडले हानेको र हजुरबुवाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको रडसहित बालिकाले प्रहरी चौकी रामेछापमा आत्मसमर्पण गरेकी छिन् ।

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहिबार  १२ : ३१ बजे