मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री ओली



न्यूयोर्क ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई कम विकसित स्तरबाट विकसित बनाउन चाहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले एशिया सोसाइटीले बुधबार यहाँ आयोजना गरेको ‘शान्ति, प्रजातन्त्र तथा विकास’ विषयक सार्वजनिक व्याख्यान कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले नेपाली जनताले राणा र शाहवंशका निरङ्कुशताविरुद्ध सङ्घर्ष गरेको र अन्त्यमा उनीहरूलाई पराजित गरी संविधानसभामार्फत सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था स्थापना गरेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाली जनताले वर्तमान लोकतान्त्रिक व्यवस्थाका लागि निकै ठूलो त्याग गरेको र धेरै शहीद भएको बताउँदै नेपालका सबै राजनीतिक दलले हतियार उठाएको स्मरण गर्दै अन्त्यमा बन्दुकको गोलीबाट नभइ जनताको मतबाट परिवर्तन र शान्ति आएको उल्लेख गरे। उनले पूर्ण बहुमतको आफ्नो सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को योजनालाई कार्यान्वयन गर्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा जलविद्युत्का लागि निकै ठूलो भण्डार रहेको र कुनै पनि लगानीकर्तालाई सही रूपमा यस क्षेत्रमा लगानी गर्न अवसर दिन सकिने बताए। उनले पिस कर्प कार्यक्रम सञ्चालन गरेकामा अमेरिकी सरकारलाई धन्यवाद दिँदै यो कार्यक्रम आरम्भ हुँदाको अवस्था अब नेपालमा नरहेको र निकै परिवर्तन भइसकेको उल्लेख गरे ।

विश्वव्यापी परिस्थितिमा एशियाली तथा अमेरिकी जनता, नेता तथा संस्थाबीच आपसी समझदारी प्रवद्र्धन गर्ने तथा उनीहरूबीच साझेदारी बलियो बनाउने उद्देश्यले ‘एशिया सोसाइटी’ सन् १९५६ मा स्थापना भएको प्रमुख शैक्षिक संस्था हो । ।यो गैरराजनीतिक र गैरनाफामूलक शैक्षिक संस्था हो र यसको कार्यालयहरू हङकङ, हस्टन, लस एन्जलस, मुम्बइ, न्यूयोर्क, सान फ्रान्सिस्को, सोल, साङ्घाइ, सिड्नी, टोकियो, वासिङ्टन डिसी तथा जुरिकमा रहेका छन् । रासस

प्रकाशित मिति : १० आश्विन २०७५, बुधबार  १० : ०९ बजे