मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला पन्तको न्यायका लागि सरकार गम्भीर नभएको भन्दै कञ्चनपुरमा फेरी आन्दोलन सुरु



काठमाडौं ।

 निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई पत्ता लगाउने कार्यमा राज्य अझै गम्भीर नभएको भन्दै कञ्चनपुरमा फेरी आन्दोलन सुरु भएको छ । निर्मला पन्तको न्यायका लागि भन्दै  नागरिक संघर्ष समिति, कञ्चनपुरको अगुवाइमा भीमदत्तका महिलाहरु धर्नामा बसेका हुन् ।

धर्नामा बस्नेहरुले निर्मला पन्त हत्याबारे उच्चस्तरीय छानविन समितिको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन् ।
गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठन भएको उच्चस्तरीय छानविन समितिले केही दिन पहिले मात्रै गृहमन्त्री रामबहादुर थापालाई छानविनको पूर्ण प्रतिवेदन बुझाएको थियो ।

                                         

प्रतिवेदन बुझाएकै दिन गृहमन्त्री रामबहादुर थापाले संसदमा निर्मलाको हत्यामा व्यक्ति भन्दा पनि समूह नै रहेको संकेत गरेका थिए ।

पछिल्लो समय उनले यसमा राजनीति घुसाएका छन् । उनले पुँजीवादका कारण बलात्कारका घटना घटिरहेको भन्दै घटनाको संवेनशीलता कमजोर पार्न खोजेका छन् । गृहमन्त्रीको यो भनाइको सर्वत्र विरोध भएको छ ।

यसैबीच, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका लागि न्याय माग्दै राजधानीमा शनिबार पनि प्रदर्शन भएको छ ।

शनिबार माइतीघर मण्डलामा स्वतस्फूर्त रुपमा प्रदर्शन भएको हो । उनीहरुले निर्मलाहरुलाई न्याय देउ, सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ, बलात्कारी किन लुकाउँदै लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार  ३ : ०८ बजे