भद्रकाली आयल स्टोरमा सरकारको छापा, दुई लाख जरिवाना, कारोबार रोक्का



७ कात्तिक, काठमाडौं –

सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गर्दै कारोबार रोक्का गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा सो आयल स्टोरले प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो।

‘विभागको अनुगमन टोलीले उक्त आयल स्टोरको इन्धन भर्ने ‘नोजल’बाट तीनवटा नमूना सङ्कलन गर्दा तीनै पटकको नमूनामा फरक÷फरक नतीजा पाइयो,’ उनले भने, ‘तीन वटा नमूनाको परीक्षण गर्दा प्रतिलिटरमा २५, ३० र ३५ एमएल ठगी गरेको पाइयो।’ इन्धन भर्ने ‘नोजल’बाट प्रतिलिटरमा १० देखि १५ एमएलसम्म तलमाथि भए स्वीकार गर्न सक्ने व्यवस्था रहेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा २ को (क) ले ‘वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदी ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने कामलाई निषेध’ गरेको छ।

उक्त आयल स्टोरलाई सात दिनभित्र रु दुई लाख जरिवाना विभागमा दाखिला गर्न निर्देशनसमेत दिएको महानिर्देशक गौचनले जानकारी दिए। अनुगमन टोलीले कम इन्धन भर्ने नोजल सुधार नगरेसम्म उक्त आयल स्टोरको कारोबार रोक्का गरेको छ। विभागको अधिकृतको नेतृत्वमा गएको अनुगमन टोलीमा गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका प्राविधिकको पनि सहभागिता थियो।रासस

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार  २ : ०७ बजे