११ कात्तिक, काठमाडौं–
चालू आर्थिक वर्षको प्रथम तीन महिनामा नेपाललाई तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ व्यापार घाटा भएको छ । यो घाटा गत आवको यसै अवधिको तुलनामा ४६ प्रतिशत बढी हो ।
गत आवको यसै अवधि (साउन–असोज)मा दुई खर्ब ३९ अर्ब ७५ करोड व्यापार घाटा भएको थियो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार व्यापार घाटा चुलिँदै जानुमा इन्धन आयात दरवृद्धि प्रमुख कारण हो । यस अवधिमा ५६ अर्ब ६८ करोड रुपैयाँको इन्धनमात्रै आयात भएको छ ।
यसपछि दोस्रोमा आइरन र स्टिलले पनि व्यापारघाटा चुलिँदै जानुमा भूमिका खेलेको छ । तीन महिनामा आइरन र स्टिल गरी ४० अर्ब तीन करोडको आयात भएको छ । यसपछि सवारीसाधन, मेसिनरी उपकरण तथा सामग्री, विद्युतीय सामग्री तथा उपकरणले व्यापार घाटाको ठूलो हिस्सा ओगटेको छ ।
चालु आवको पहिलो तीन महिनामा पौने तीन खर्बको उपभोग्य वस्तु आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार गत वर्षको पहिलो तीन महिनाको तुलनामा यस अवधिमा आयातको आकार ४३.५७ प्रतिशतले ठूलो भएको छ ।
यो वर्षको तीन महिनामा तीन खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ। गत वर्षको तीन महिनामा दुई खर्ब ६० अर्ब २० करोड रुपैयाँको वस्तु आयात भएको थियो ।