महासमिति बैठकको तयारीमा जुट्यो कांग्रेस , उपसमतिहरुलाई कामको बाँडफाड



काठमाडौं कात्तिक, १३–

प्रमुख विपक्षी नेपाली कांग्रेसले महासमिति बैठकको तयारी तिव्र पारेको छ ।  आगामी मंसिर ५ गते बाट हुने महासमिति बैठकका लागि कांग्रेसले  विभिन्न उपसमतिहरु गठन गरेर तयारी सुरु गरेको हो । महासमिति बैठक स्थानिय व्यवस्थापन समितिको बैठकले सोमबार मात्रै ५ वटा उपसमिति गठन गरेर कामको बाँडफाड गरेको जनाएको छ ।

महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काँग्रेस काठमाडौँ जिल्लाका सभापति सवुज बाँनियाको अध्यक्षतामा काँग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकले भोजन व्यवस्थापन, मञ्च तथा प्चार प्रसार, स्वयंसेवक व्यवस्थापन, स्थानिय व्यवस्थापन सचिवालय र आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको हो ।

जसअनुसार भोजन व्यवस्थापन उपसमितिको संयोजकमा काँग्रेस भक्तपुरका सचिव तोकिएका छन् भने सो समितिको सहसंयोजकमा नेपाली काँग्रेस, ललितपुरका सचिव भीमसेन घिमिरे छन् ।

त्यसैगरी मञ्च तथा प्रचार प्रसार व्यवस्थापन उपसमितिको संयोजकमा गोविन्द पुडासैनी, कोषाध्यक्ष, नेपाली काँग्रेस (काठमाडौ) छन् भने सह संयोजकमा कर्मा व्यजनकार, कोषाध्यक्ष काँग्रेस (ललितपुर) र विजेश अवाल, कोषाध्यक्ष, काँग्रेस (भक्तपुर) छन् ।

स्वयंसेवक व्यवस्थापन उपसमितिको संयोजकमा भीमसेन घिमिरे, सचिव काँग्रेस ललितपुर र सह संयोजकमा किरण न्यौपाने, सहसचिव, कांग्रेस (भक्तपुर) रहेका छन् ।
स्थानीय व्यवस्थापन सचिवालय उपसमितिको संयोजकमा निशान ढुंगेल, सचिव, कांग्रेस भक्तपुर छन् भने आर्थिक व्यवस्थापन गर्न नेपाली कांग्रेस काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला सभापतिहरुलाई जिम्मा दिने निर्णय भएको छ ।

काँग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा हुदैछ ।

नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा गत शनिवार बसेको पार्टीको केन्द्रीय पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिका पदाधिकारीहरूसँगको संयुक्त बैठकले महासमिति बैठक काठमाडौमा गर्ने निर्णय गरेको हो ।

बैठकमा सभापति देउवाले काठमाडौँ जिल्ला कार्य समितिलाई महासमितिको बैठक स्थलको तयारीका लागि निर्देशन दिएका थिए ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलबार  ६ : ४७ बजे