मोदी यो पटक आउनु नै भएन भने पनि केहि छैन : नेकपा अध्यक्ष प्रचण्ड



काठमाडौं, कात्तिक १९–

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा नआउनु ठुलो खबर नभएको प्रतिक्रिया दिएका छन् ।  विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएका मोदीको भ्रमण अनिश्चित भएको खबरहरु सार्वजनिक भैरहेका बेला प्रचण्डको. यस्तो प्रतिक्रिया आएको हो ।

सोमबार विराटनगर विमानस्थलमा बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मलाई सबै थाहा छैन तर, मोदी धेरै आइसक्नुभयो । यो पटक आउनु नै भएन भने पनि ठूलो खबर भएन ।’
यद्यपि उनले मोदीको नेपाल भ्रमणको सम्भावना अझै रहेको बताए ।

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बताए । उनले सरकारको कामकारवाहीको गति पनि बढाउने बताए । ‘हिलोमैलो सिजनमा एक नम्बर गियरमा चलेको छ । अब गियर फेरेर पनि सरकार अगाडि जान्छ,’ उनले भने । प्रचण्ड नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७५, सोमबार  ६ : १५ बजे