यस्तो थियो कुख्यात गुण्डा नाईके समिरमानसिंह बस्नेतको भित्री योजना



काठमाडौं कात्तिक, २०–

अन्डरवल्र्ड डन दाउद इब्राहिम शैली पछ्याउँदै व्यक्तिहत्या तथा फिरौती असुल्दै आएका कुख्यात गुण्डा नाईके समिरमानसिंह बस्नेतले हाईप्रोफाइल हत्या गरी गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल हटाउने योजना बनाएको रहस्य खुलेको छ ।
महानगरीय अपराध महाशाखाले गत साता पक्राउ गरेका तीन अभियुक्तको बयानबाट यस्तो डरलाग्दो तथ्य खुलेको हो । सुटर अंमर रानामगर, लोप्साङ लामा र रोशन बुढाथोकीको बयानले यस्तो खुलासा गरेको हो । त्यो बयानको भिडियो रेकर्ड गृह मन्त्रालय पुगेको छ । उच्च स्रोतका अनुसार गुण्डा नाईके बस्नेतले पछिल्लो समय प्रतिष्ठित मिडिया मालिकको हत्या योजना बनाएको स्रोतले जनाएको छ ।
उक्त हत्या योजनाको सूचना अपराध महाशाखाले पाएपछि महाशाखाको विशेष टोलीले मिडिया मालिकमाथि गोप्य रुपमा निगरानी गर्दै सुटरको खोजी थालेको थियो । दुई महिनाको निगरानी पछि महाशाखाको टोलीले बस्नेतका तीन सुटरलाई पक्राउ गर्न सफल भएको हो ।

सुटरको पक्राउसँगै तत्कालका लागि गुण्डा नाईके बस्नतको योजना असफल भएको छ । उक्त योजनामा बस्नेतको मात्र हात नभई केही राजनीतिक व्यक्ति र प्रहरीकै उच्चअधिकारीको समेत संलग्नता रहेको आशंका छ । सुटरको पक्राउ अगाडी नै बस्नेतको योजना तुहिएपछि गृहमन्त्रीको ठाडो आदेशमा बस्नेतलाई मुस्ताङ कारागार सरूवा गरिएको थियो । तर उनको परिवारले बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि उनलाई पुन अदालतमा हाजिर गराउन काठमाडौं झिकाईएको हो । हाल बस्नेत केन्द्रीय कारागारकोे गोलघरमा छन् ।

बस्नेतले मिडिया मालिकका लागि किन सुटर खटाए भन्ने विषयमा प्रहरी र गृहमन्त्रालयले सुक्ष्म अनुसन्धान थालिसकेको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार यस बिषयमा छानबिन समीति बन्न सक्छ । कारागारमा रहेका बस्नेतको प्रहरीका केही अधिकारीसँग समेत नियमित सम्पर्क रहेको प्रमाण समेत महाशाखाले फेला पारेको छ ।

प्रहरीको खोजिमा रहेका अभियुक्तसँग समेत प्रहरीका केही अधिकारी नियमित संम्र्पकमा रहेको अनुसन्धानमा खुलासा भएको छ । यो संम्पर्कले प्रहरीका केही अधिकारी पनि बस्नेतको काममा सहयोगी भएको गृह मन्त्रालयको ठम्याई छ । सुरक्षामा अस्थिरता कायम गरी बस्नेत आइजी खनाल बर्खास्त भएको देख्ने इच्छामा रहेको सूटरले नै बताएका छन् ।

आफ्ना मित समेत रहेका कुख्यात गुण्डा नाईके घैंटे भनिने कुमार श्रेष्ठको ईन्काउन्टरको बदला लिन बस्नेतले मिडिया मालिक हत्याको योजना बनाएको उच्च प्रहरी स्रोत बताउँछ । उक्त योजना पुरा हुँदा सुरक्षा अस्थिरता आउने र गृहमन्त्री थापा र आइजी खनाललाई नैतिक प्रश्न उठ्न सक्ने थियो ।
को हुन् बस्नेत

काठमाडौं बाफलका स्थानीय बस्नेतले २०६० सालबाट गुण्डागर्दीको सुरूवात गरेका हुन् । बाफलमा टोले गुण्डाका रूपमा उदाएका बस्नेतलाई तत्कालिन समयमा अर्का गुण्डा नाईके काजी शेर्पाले मलजल गरेका थिए । ठमेलबाट दिपक मनाङ्गेले लखटेपछि समूह खडा गर्न थालेका शेर्पाले बस्नेतलाई भित्राएका थिए ।

मनाङ्गेलाई आक्रमण गर्ने योजना बनाएर हातहतियार सहित ठमेल छिरेका शर्पा सहित बस्नेतलाई तत्कालिन लैनचौर प्रहरी प्रमुख ईन्सपेक्टर हाल एसपी अशोक सिंहले आधा दर्जन तरबार र खुकुरीसहित ज्याठाबाट पक्राउ गरेका थिए ।

बस्नेतको यो पहिलो प्रहरी हिरासत थियो । केही सार्वजनिक अपराधमा २४ दिन हिरासतको बसाई पश्चात धरौंटीमा रिहा भएपछि शेर्पा र बस्नेतले चक्रेबाट रिसाएका कुमार घैंटेलाई समूहमा भित्राएका थिए । कुमार घैंटेको आगमनसँगै यो समूह झनै उग्र रूपमा गुण्डागर्दीमा संगल्न हुन थाल्यो ।

२०६१ मा मठेलको संचयकोष चोकमा ग्याङ फाईट हुँदै गर्दा तरबार सहित प्रहरीको भ्यानमा ठोकिन पुगेका बस्नेत राती हिरासतको बाथरूमको झ्यालबाट फरार भएका थिए । घैंटे, बस्नेत र शेर्पाको समूहले रात्रीकालिन र रेष्टुरेन्ट र बालुवाखानीलाई आयस्रोतको माध्यम बनाउँदै संगठित रूपमा फिरौती धन्दा पनि चलाउने थाले । मेनपावर, कलेज हुदै टेण्डर कब्जामा यो समूह सक्रिय हुन थाल्यो । शेर्पा ठेकदारकै रूपमा स्थापित हुन थाले भने गुण्डागर्दीको नाईके कुमार घैंटे बन्न पुगे । घैंटेका मुख्य सहयोगीका रूपमा बाफलका बस्नेत उदाए ।

तर तीन बर्ष अगाडी प्रहरी ईन्काउन्टरमा घैंटे मारिएपछि बस्नेतले त्यसको बद्ला लिन प्रहरीलाई निशाना बनाए । रहस्य खुलासा भएपछि बस्नेत फरार भई भारतको बिभिन्न ठाउँमा बस्दै आएका थिए । प्रहरीले तत्कालिन समयमा साजन गुरूङ र कारजोन गुरूङको पक्राउसँग बस्नेतको प्रहरीमाथि आक्रमण गर्ने योजना तुह्यो ।

घैंटे इन्काउन्टरमा मारिएपछि प्रहरीका तत्कालिन महाशाखाका एसएसपी सर्वेन्द्र खनाल ९हाल आईजी०सँग बदला लिन समूहलाई परिचालन गर्दै आएको सूचनाको चुहावट भएपछि बस्नेत फरार भई भारत छिरेका थिए । भारतमा मनोज पुनसँग भेट भएपछि पुन बस्नेतले काठमाडौंमा फिरौंतीको धन्दा चर्काएका थिए । फिरौंतीको रकममा कुरा नमिल्दा व्यवसायी तथा निमार्ण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गरेको समेत पुष्टि भईसकेको छ ।

दावा लामाको हत्या योजना, दुर्गा तिवारीको हत्या समेत बस्नेतकै योजना र आदेशमा भएको गत साता पक्राउ परेका तीन सुटरले खुलासा गरेका छन् । सुटरले बस्नेतपत्नीे माया शेरचनले हतियारको व्यवस्थापन र खर्चको चाँजोपाँचो मिलाउने गरेको बयान दिए । माया पनि अहिले प्रहरी हिरासतमा पुगेकी छिन् ।

घैंटेको ईन्काउन्टरपछि भारतमा लुकेका बस्नेतलाई विवादित ठेकेदार सन्तोष गौतमले सूचना दिने गरेको समेत पक्राउ परेका सुटर मध्यका लोप्साङले बयान दिएका छन् । लोप्साङले भने, ‘मैले चिनेको छैन, तर समिरलाई ठेक्कापट्टा सबन्धित सूचना र ठेकदारको नम्बर सन्तोष भन्ने व्यक्तिले उपलब्ध गराउँदै आएका थिए । नियमित जसो सन्तोष भन्ने व्यक्ति र समिरको भाईबरमा कुरा हुन्थ्यो ।’

हत्या भएको एक महिना अगाडी  दश अर्बको  हुलाकी राजमार्गको टेण्डर चिनियाँ कम्पनीलाई दिलाउन गौचन सफल भएका थिए । जसमा गौचनको समूहले महासंघको नाममा ठेक्का दिलाईदिए बापत ५० करोड कमिशन लिएका थिए । उक्त पैसा ठेक्का दिलाउने निकायदेखि महासंघका पदाधिकारीमा समेत भागबण्डा गरिएको थियो ।

महासंघ स्रोतका अनुसार भागबण्डामा नपरेका ठेकदार सन्तोष गौतमले गुण्डा नाईके बस्नेतको प्रयोग गरेर गौचन हत्या भन्दा एक महिना अगाडीदेखि गौचनलाई तीन करोडको अफर गर्दै आएको थियो । तर, गौचनले यी सब कुरा हल्का रूपमा लिदै वास्ता नगरेपछि बस्नेतको आदेशमा गौचनमाथि गोली प्रहार गरिएको सुटर अंमर राणाले समेत पुष्टि गरेका छन् ।

को हुन् सन्तोष गौतम  ?

प्रहरी इन्काउन्टरमा मारिएका कुमार घैंटेका पार्टनरका रूपमा चिनिने हेटौंडाका सन्तोष गौतमले गुण्डाका नाईकेलाई सहयोग र दुरूपयोग गर्दै आएको महासंघ स्रोत बताउँछ । गौतमले घंैटेका मित समिरमान बस्नेतलाई सहयोग गरी दुरूपयोग गर्दै आएको रहस्य समेत अहिले खुलासा हँुदै आएको छ ।

गौतमको गोली काण्डमा संलग्नता छ वा छैन भन्ने बारेमा प्रहरी टोलीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको स्रोत बताउँछ  ।स्रोतका अनुसार गौतमको अपराध महाशाखा र सिआईबीका केही भ्रष्ट प्रहरीसँग राम्रो सम्बन्ध रहेका कारण उनी अनुसन्धानको दायरामा सजिलैसँग तानिन सकेका छैनन् ।

घैंटे इन्काउन्टर पश्चात गुमनाम रहेका गौतम प्रहरीसँग हिमचिम बढाउन पुगेका थिए । घैंटेको करोडौं रकम उनीसँग भएको भन्दै अपराध महाशाखाका तत्कालिन प्रमुख खनालले निगरानी राखेका थिए । घैंटेपत्नी पिङ्की शेर्पाले समेत गौतमसँग करोडौं रूपैयाँ भएको दाबी गर्दै आएकी छिन् ।

तर, गौतमले भने चिनजान भएको तर कुनै व्यवसायीक साझेदारी नभएको दाबी गर्ने गरेका छन् । गजुरमुखी निमार्ण सेवाको शेयर होल्डर समेत रहेका गौतमले कुनै ताका टेण्डर कब्जा गर्नकै लागि घैंटेलाई आफ्नो कम्पनीमा भित्राएका थिए ।

गौचन हत्या पश्चात बनेको तत्कालिन डिआईजी गणेश केसीको छानबिन समीतिले समेत गौतमको बयान लिएको थियो । तर केही नेता र प्रहरीकै सक्रियतामा गौतम जोगिएको स्रोतको दाबी छ । स्रोत अपराध खबर

 

प्रकाशित मिति : कार्तिक २०, २०७५ मंगलबार  ५ : २६ बजे