तिहारको दिनमै घर भत्कायो हात्तिले , ३ परिवारको बिचल्नी



कञ्चनपुर-

रासस

तिहारको दिनमै कञ्चनपुरको बेदकोट नगरपापलिका-१० राना दैजीका तीनजनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ।  गएराति शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीनजनाको घर हात्तीको झुण्डले भत्काएको हो।

हात्तीले घर भत्काइ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतको अन्न सबै खाएको छ। लुगा, कागजपत्र बाकस, ग्यास सिलिण्डर, दराज, पङ्खा, टिभीलगायतका सामग्रीसमेत पूरै तोडफोड गरेको छ। घर नजिक लगाएको तरकारी नष्ट गर्नाका साथै खानेपानीका लागि गाडिएको नल्कासमेत हात्तीको झुण्डले उखेलेको छ।

राति १२ बजे २० भन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हो। हात्तीको झुण्डले घर भत्काउन थालेपछि बालबालिकासहित ज्यान जोगाउन घर छाडेर भागेको स्थानीय शिवराज रानाले बताए।

“बिहान घरमा पुग्दा घर भत्काइएको थियो”, उनले भने, ‘घरभित्र राखेको सबै अन्न खाइदियो। लुगाफाटोसमेत च्यातचुत पारेर विचल्लीमा पारेको छ।’
“ज्यान त बल्लतल्ल जोगायौँ, घर जोगाउन सकिएन,” उनले भने।

अन्‍न सबै हात्तीले खाएपछि बिहान छिमेकीले दिएको खाना खाएर बसेको अर्का खेमराज रानाले बताए। उनले भने, ‘हात्तीले बिजोग पार्‍यो। खानासमेत अरुबाट मागेर खानु परेको छ।”

खेतमा धान छँदा खाएर नोक्सान गर्दै आएको हात्तीले घरभित्र राखेको धानलगायतका अन्नसमेत खाएर नोक्सान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था गरिदिन यस क्षेत्रका बासिन्दाले माग गरेका छन्।

यसैबीच, आज बिहान सुदूरपश्चिम प्रदेशका सदस्य लालबहादुर खड्काले हात्तीले घर भत्काएका परिवारको अवस्था र क्षतिको जानकारी लिए। उनका अनुसार हात्तीको झुण्डले तीन वटै परिवारको अन्न सबै खाएर र घरभित्र राखेको लुगाफाटोसमेत नष्ट गरेको छ। खड्काले भने, ‘हात्तीपीडित परिवारको अवस्था निकै नाजुक छ। तत्काल राहत र बस्ने व्यवस्था मिलाउन पहल भइरहेको छ।

प्रकाशित मिति : कार्तिक २३, २०७५ शुक्रबार  १ : ५८ बजे