काठ्मान्डौ-
सरकारले विशिष्ट व्यक्तिहरूकाे सुरक्षा निर्देशिका परिमार्जन गर्न लागेकाे छ। गृहमन्त्रालयले विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७० लाई परिमार्जन गरी नयाँ सुरक्षा निर्देशिका ल्याउन मन्त्रिपरिषद्मा प्रस्ताव गरेकाे छ। मन्त्रिपरिषद्माबाट विशिष्ट व्यक्तिहरूको सुरक्षासम्बन्धी परिमार्जित निर्देशिका पारित भएपछि त्यस्तो सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि तेब्बरले बढ्नेछ। यसबाट सरकारलाई अतिरिक्त आर्थिक भार पर्न जानेछ। अहिले विशिष्ट र अतिविशिष्ट ब्याक्तिहरूको सुरक्षामा करिब २ हजार ५ सय सुरक्षाकर्मी परिचालित छन्।
मुलुक संघीय संरचनामा गइसकेको र प्रदेशमा समेत विशिष्ट व्यक्तिहरुलाई सुरक्षा दिनपर्ने अवस्थामा ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका २०७०’ परिमार्जन गर्नुपर्ने आवश्यकता बोध गर्दे गृहमन्त्रालयले सो तयारी गरेको हो । प्रदेश प्रमुख, प्रदेशका मुख्य मन्त्री, प्रदेशमन्त्री र कर्मचारीसहितको सुरक्षा व्यवस्थालाई लक्षित गरी नयाँ निर्देशिका ल्याउन लागिएको गृहमन्त्रालयले जनाएको छ।