मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किशोरी बलात्कारको अभियोगमा नुवाकोटका दुई जना पक्राउ



विदुर कात्तिक, ३०–

किशोरी बलात्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ ।

स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए ।

बतीस वर्षीय श्रेष्ठ र २४ वर्षीय थापालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

पक्राउ परेका दुबैलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको छ ।

उनीहरुले गत साता नुवाकोटका पाँच किशोरीलाई भारततर्फ लैजाने क्रममा बट्टारस्थित एक होटलमा राति राखेर त्यहाँ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको प्रहरी जनाएको छ ।

यही कात्तिक २१ गते बुधबार देउसी खेल्न हिँडेका १३ देखि १६ वर्ष उमेर समूहका ती किशोरीलाई प्रहरीले गत शुक्रबार सुर्खेतबाट बन्धक बनाएको अवस्थामा उद्धार गरेको थियो ।

किशोरीहरुलाई फकाएर भारततर्फ लैजान लागेको अभियोगमा नुवाकोट प्रहरीले उनीहरु बन्धक बनाइएको घरका धनी सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ का निर्मल विश्वकर्मा र नुवाकोट लिखु गाँउपालिका–४ चौघडाका विकास प्याकुरेललाई गत आइतबार नुवाकोट अदालतमा मानब बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान गर्दै आइरहेको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार  ७ : ३६ बजे