भरतपुरमा टिपरले लियो एक बालकको ज्यान



चितवन मंसिर, २–

भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन् ।

बाबु छोरा पटिहानीतर्फ साइकलमा जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको ना५ख ६९९८ नंको टिपरले साइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल चालक बाबु आलम सामान्य रहेका छन् ।

ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । रासस

 

प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार  ७ : ३६ बजे