मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामूहिक बलात्कारपछि निर्मला पन्तको हत्या गरेको आशंका, महेन्द्रनगरका चार युवालाई काठमाडौं ल्याईयो



२१ मंसिर, काठमाडौं–

बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ । प्रारम्भिक आधार भेटिएको भन्दै सिआइबीको टोलीले उनीहरूलाई धनगढी हुँदै हवाइजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो ।

घटनालगत्तै महेन्द्रनगर खटाइएका सिआइबीका अंगुर जिसी निलम्बनमा परेपछि अनुसन्धानमा पठाइएका डिएसपी कमल थापाको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र विशाल चौधरीसहित चारजनालाई पक्राउ गरेको हो । समूहका एक सदस्यका रूपमा प्रदीप रावल मंगलबारदेखि नै प्रहरी वृत्त महाराजगन्जको थुनामा छन् ।

‘अहिलेसम्मको अनुसन्धानमा सामूहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको देखिन्छ । त्यसैले पाँचजनालाई हिरासतमा लिएका छौँ । अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौँ,’ एक प्रहरी अधिकारीले भने । यद्यपि, डिएनएलगायत प्राविधिक परीक्षणको रिपोर्टबाट मात्र वास्तविकता पत्ता लाग्ने प्रहरी अधिकारीहरू बताउँछन् । डिएनए रिपोर्ट पर्खनकै लागि प्रहरीले प्रदीपलाई सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा म्याद थप गरेर थुनामा राखेको छ ।

पक्राउ परेकाहरू लागुऔषध दुव्र्यसनी रहेको र विगतमा पनि अपराधमा जोडिएको प्रहरी स्रोतको दाबी छ । घटनाको दिन निर्मलाको शव भएकै क्षेत्रमा उनीहरूको उपस्थिति देखिएको र घटनापछि शंकास्पद गतिविधि देखाएकाले पनि उनीहरूलाई पक्राउ गरेरै अनुसन्धानको दायरामा ल्याइएको प्रहरीको भनाइ छ । त्यस्तै काठमाडौंमा पक्राउ परेका प्रदीपले निर्मलास“ग चिनजान भएको भन्दै हिँडेको पत्ता लागेको पनि प्रहरीले जनाएको छ । निर्मला आफ्नो गर्लफ्रेन्ड भनेर आफूले केही ठाउ“मा गफ दिएको उनले प्रहरीस“ग पनि स्विकारेका छन् ।

पक्राउ परेकामध्ये केहीले अपराध स्वीकार गरे पनि नतिजा भने डिएनए रिपोर्टमै निर्भर हुने स्रोत बताउँछ । अभियुक्तले साबिती बयान नै दिए पनि डिएनए रिपोर्ट नमिलेमा मुद्दा नचल्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले छिटो प्रक्रियाबाट उनीहरूको डिएनए परीक्षण गराउँदै छ ।

यसअघि दिलीपसिंह विष्टले पनि सुरुमा प्रहरीसँग साबिती बयान दिएका थिए । विष्टलाई प्रहरीले अभियुक्तका रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । तर, पछि डिएनए रिपोर्ट नमिलेपछि नक्कली अभियुक्त खडा गरेको भन्दै आन्दोलन चर्किएको थियो । त्यसैले पक्राउ परेका व्यक्तिहरूविरुद्ध बलियो प्रमाण संकलन भए मात्र औपचारिक रूपमा बोल्ने प्रहरी तयारी छ ।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार  ४ : २८ बजे