मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्याम्पसका व्यापारिक सटरहरु कौडिको भाउमा भाडामा लगाएर अनियमितता



५ पुस, काठमाडौं–

चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पसका एक दर्जन सटरहरु विना टेण्डर भाडामा लगाएर बर्षौंदेखि अनियमितता गर्दै आएको तथ्य खुलेको छ ।

पोखरा १० अस्पताल चोकमा रहेका क्याम्पसका १२ वटा व्यापारिक सटरहरु विगत १० वर्ष देखि टेण्डर नै नगरी भाडामा लगाइएको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

२०६३ सालमा निर्माण भई सञ्चालनमा आएको ति सटरहरु सञ्चालनको सुरुवाती समयका टेण्डर गरि भाडा संझौता गरिएको थियो । तर, एक दशक बढि समय वितिसक्दा पनि विना टेण्डर पुरानै व्यापारीहरुलाई म्याद थपिदिदा क्याम्पसले समय सापेक्ष पाउन सकेको छैन । जसका कारण क्याम्पसले वार्षिक लाखौं घाटा वेहोर्नु परेको छ ।

क्याम्पस प्रसाशनले व्यापरीहरुसँग मिलेमतो गरि मनोमानी ढंगबाट भाडा करार संझौता गर्दै आएका थिए । टेण्डरको पहिलो पाँच वर्षे म्याद २०७० सालमै सकिएको थियो ।

सम्झौता वमोजिम पाँच वर्षपछि टेण्डर गर्नु पर्नेमा क्याम्पस प्रसाशनले व्यापारीको स्वार्थ बमोजिम करार सम्झौता थप गर्दै आएको थियो । क्याम्पसले संझौता थप गर्दा साविक भाडामा १० प्रतिशत मात्र थप गरेको छ ।

अस्पताल चोकमा रहेका सटरहरु ३० हजार बढि भाडामा लाग्ने गरेका छन् । तर, नर्सिङ क्याम्पसले लगाएको भाडा न्युनतम दुई हजार पाँच सय देखि अधिकतम १५ हजार ७ सय ३६ रुपैयाँ सम्मका रहेका छन् । गोप्य टेण्डर गर्ने हो भने क्याम्पसले हाल पाइरहेको भन्दा दोब्बर भाडा पाउने अपेक्षा गरिएको छ ।

हाल सटर नं. १ नम्वरको १३ हजार ५००, २ नम्वरको १० हजार ४८३, ३ को भाडा १५ हजार ७३६, ४ नम्वरको २ हजार ५००, ५ नम्वरको १० हजार ४५०, ६ नम्वरको १२ हजरा १००, ७ नम्वरको ११ हजार ५५०, ८ नम्वरको १० हजार ०००, ९ नम्वरको २ हजार ७५०, १० नम्वरको ९ हजार ५००, ११ नम्वरको ९ हजार ९०० र १२ नम्वरको ९ हजार ३५० रुपैयाँ भाडा तिर्दै आएको क्याम्पस प्रशासनले जानकारी दिएको छ । क्याम्पसका आर्थिक सह–नियन्त्रक चिरञ्जिवी प्रसाद थपलियाले हालको भाडा न्यून रहेको बताए । उनले भने–‘अब माघ महिनामा सबै सटरको टेण्डर गरिन्छ ।’

क्याम्पस प्रमुख नीता ताम्राकारले विगतका कमीकमजोरी सच्चाएर अवका दिनमा सटरको नियमानुसार टेण्डर गर्ने प्रतिवद्धता व्यक्त गरेकि छन् । ‘मैले माघ भित्र टेण्डर निकाल्न आर्थिक प्रशासन शाखालाई निर्देशन दिइसकेको छु, नियमानुसार टेण्डर खुल्छ ढुक्क हुनुहोस्’–उनले भनिन् ।

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार  ६ : ४७ बजे