काठमाडौं पुस, १०–
संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री ओलीले राजपाका नेताहरुसँग एक हप्ताको समय समेत मागेको राजपानिकट नेताहरुले बताएका छन् ।
सरकार, आफ्ना पार्टी र विपक्षि दलसँग समेत संविधान संशोधन लगायतका विषयमा छलफल गर्ने र त्यसमा के गर्न सकिन्छ त्यसको बारेमा एक हप्तापछि जवाफ दिने कुरा प्रधानमन्त्री ओलीले भनेको राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले बताए ।
उनले भने, ‘जे कुरा पहिला हुन्थ्यो त्यही कुरा आज पनि भएको हो, पहिला पनि प्रधानमन्त्री सकारात्मक नै हुनुहुन्थ्यो । सात दिनपछि प्रधानमन्त्रीजीको कस्तो प्रतिकृया आउँछन त्यसमा भर पर्छ ।’
सविधान संशोधन, मुद्दा फिर्ता, बन्दी रिहाय लगायतका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल भएको हो । राजपा नेपाल अध्यक्षमण्डलको बैठक एक वजेबजे पार्टी कार्यालयमा बस्दैछ ।