मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्मला हत्या प्रकरणः मुख्य शंकास्पद मानिएका प्रदीप पनि थुनामुक्त, फेरि चुक्यो प्रहरी



काठमाडौं पुस, ११–
निर्मला हत्याको आरोपमा पछिल्लो पटक पक्राउ परेका प्रदीप रावल जेलमुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशमा मुख्य शंकास्पदको रुपमा प्रस्तुत गरिएका रावल साधारण तारेखमा थुनामुक्त भएका हुन् । प्रहरीमाथि अभद्र व्यवहार गरेको अरोपमा उनीमाथि महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले मुद्दा चलाएको थियो । अभद्र व्यवहारका विषयमा अनुसन्धान गर्न उनीमाथि म्याद थप गरिएको भए पनि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीमाथि निर्मला हत्या प्रकरणमा अनुसन्धान गरिरहेको थियो ।
उनीमाथि प्रहरीले ४ पटक म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । उनलाई पक्राउ गरेपछि पहिलो पटक ७ दिन, त्यसपछि ३ पटक ५ दिन म्याद थप भएको थियो ।

उनले बयानमा निर्मलाको हत्यामा संलग्न भएको स्वीकारेको प्रहरीले दाबी गरेको थियो । रावलले साबिती बयान दिएको खबर पाएलगत्तै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयम् पनि राति नै उनको बयान लिन सीआईबी पुगेका थिए ।

यसअघि रावलको बयानका आधारमा नियन्त्रणमा लिइएको भनिएको अर्का युवा विशाल चौधरी पनि छुटिसकेका छन् । उनले प्रहरीले धम्की दिएर आरोप स्वीकार्न लगाएको दाबी गरेका थिए ।
यद्यपि, निर्मलाको ‘भजाइनल स्वाव’सँग दुवै जनाको डीएनए मेल नखाएको प्रहरीले नै अनौपचारिक रूपमा बताएको थियो ।

पछिल्लो समय मुख्य आरोपितका रुपमा नाम चुहाइएका दुई जना साधारण तारेखमा छुट्दा फेरि एक पटक प्रहरी चुकेको छ । यसअघि पहिलोपटक बलियो सबुतविनै दिलिपसिंह विष्टलाई सार्वजनिक गर्दा प्रहरीमाथिको जनविश्वास गुमेको थियो ।

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  १० : ५७ बजे