मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँखिर को हुन् सुन तस्करका प्रमुख नाइके ? पत्ता नलाग्नुको कारण के ?



काठमाडौं पुस, १७–
केरुङ नाका हुँदै अवैध प्रक्रियाबाट भित्र्याइएको ५ केजी सुन प्रहरीले बरामद गरेको छ । सार्वजनिक बसमा कम्मरमा सुन बाँधेर काठमाडौं आउँदै गरेका १८ वर्षीय सोमबहादुर तामाङ बुधबार बालाजु नजिक तीनपिप्लेबाट पक्राउ परेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

रसुवाको गोसाइँकुण्ड घर भई बालाजुकै एक कलेजमा पढ्ने तामाङ भरिया मात्र रहेको प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जनाए । केरुङबाट प्रतिकेजी ५० हजार रुपैयाँ पाइने लोभमा उनी सुन ओसार्न तयार भएका थिए ।

प्रहरीका अनुसार केरुङको सीमापारि चिनियाँ व्यापारी सुन बोकेर भरियाको खोजीमा बस्छन् । ‘वी च्याट’मार्फत सम्पर्कमा आउनेलाई उनीहरू सुन दिएर पठाउँछन् । काठमाडौं पुगेपछि मात्रै उनीहरू भरियालाई उक्त सुन कहाँ पुर्‍याउने हो भन्ने खुलाउँछन् । तामाङले बोकेको सुन कसको हो र कसलाई पुर्‍याउन लागिएको हो भन्ने नखुलेको बोगटीले बताए । ‘वी च्याटमार्फत सम्पर्क हुने र धेरै लेयरमा काम हुने भएकाले असली मालिक पत्ता लगाउन कठिन छ,’ उनले भने ।

प्रहरी परिसर काठमाडौंका अनुसार भन्सार ऐन २०६४ को दफा ५७ अनुसार एक करोडदेखि ५ करोड रुपैयाँसम्मको बिगोमा एकदेखि ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । प्रहरीले तामाङलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाउने भएको छ ।

सरकारले उच्चस्तरीय समिति बनाएरै काम थाले पनि संगठित सुन तस्करी रोकिएको छैन । समितिले गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन कार्यान्वयन भइनसकेको अवस्थामा तस्करीको नयाँ घटना सतहमा आएको हो ।

प्रहरी स्रोतका अनुसार केरुङ नाकाबाट नियमित रूपमै सुन तस्करी भइरहेको देखिन्छ । परिसरले गत असोज ८ गते बा७३प ३४०२ नम्बर मोटरसाइकलबाट ३ केजी सुन बरामद गरेको थियो । उक्त सुन रसुवाका २४ वर्षीय नरबहादुर घले र २० वर्षीय पेम्बा तामाङले केरुङबाट काठमाडौं ल्याएको खुलेको थियो । बयानमा उनीहरूले पनि प्रतिकेजी ५० हजार रुपैयाँ पाउने लोभमा सुन बोकेको बताए । उक्त सुनका मालिक र कसका लागि पठाइएको हो भन्ने खुल्न सकेको छैन ।

गत असार १७ गते पनि नागढुंगा प्रहरीले केरुङबाट ६ केजी सुन लिएर काठमाडौं भित्रिँदै गरेका तेन्जिङ तामाङलाई पक्राउ गरेको थियो । उनी पनि भरिया मात्रै भएको खुल्यो ।

असार १६ गते ३ केजी सुन गाडीमा राखेर महेन्द्रनगर जाँदै गरेका भारतीय नागरिक दीपकुमार मौर्य पक्राउ परे । नागढुंगा वृत्तले उक्त सुन काठमाडौंबाट भारतीय बजार पुर्‍याउन लागिएको तथ्य पत्ता लगाएको थियो । यो घटनामा पनि प्रहरीले सुनका असली मालिक भने पत्ता लगाउन सकेन ।

प्रहरीका अनुसार धेरै तह बनाएर सुनको अवैध कारोबार हुने गरेकाले मालिक पत्ता लगाउन कठिनाइ छ । भरियाहरू पनि सुनका मालिकबारे जानकार देखिँदैनन् । केरुङबाट सुन ओसारपसारमा भेटिएको एउटै समानता भनेको भरियाहरू ‘वी च्याट’ मार्फत तस्करको सम्पर्कमा पुग्नु हो । प्रहरीका अनुसार सुन मालिकले भरियालाई जिम्मा लगाएपछि ‘वी च्याट’ मा लेखिएका सन्देश मेटाइदिने गर्छन् ।

यसरी भित्रिएको सुनको केही हिस्सा काठमाडौंमा खपत हुने र बाँकी स्थलमार्ग हुँदै भारतीय बजार पुग्ने गरेको प्रहरीले जनाएको छ । ‘केरुङबाट भित्रिने सुनमा चिनियाँ र भारतीयको संयुक्त लगानी हुने गरेको छ, त्यसलाई ओसारपसारको जिम्मा नेपाली एजेन्टले लिने गरेका छन्,’ एक प्रहरी अधिकारीले भने । लाग्दैनन् गिरोहका नाइके ?

प्रकाशित मिति : १७ पुस २०७५, मंगलबार  २ : २६ बजे