काठमाडौं पुस, २३–
पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई क्रिश्चियन धर्मसँग जोड्ने प्रयास गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एसिया प्यासिफिक समिट’मा सहभागी भएको नेता नेपालले दावी गरे ।
सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एसिया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषय काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराएका थिए । सोही सम्बन्धमा स्पष्टिकरण दिने क्रममा वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको दावी गरे ।
उनले सो समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि कुत्सित मनासाय राख्ने काम भइरहेको भन्दै आपत्ति पनि जनाए । वरिष्ठ नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको पनि स्पष्ट पारे । उनले एसिया प्यासिफिक समिटमा पहिलोपटक सहभागी हुने वीपी कोइराला भएको जवाफ पनि काँग्रेस सांसद राजभण्डारीलाई दिएका थिए ।
सो समिटमा काँग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुँदा विवाद नगर्ने तर आफू सहभागी हुँदा विरोध गर्ने काम भएको वरिष्ठ नेता नेपालको गुनासो छ ।