काठमाडौं पुस, २४–
पटक पटक सर्दै आएको नेपाल विद्यार्थाी संघ (नेविसंघ)को महाधिवेशन यो पटक पनि सम्पन्न हुने सम्भावना अत्यन्तै न्यून देखिन्छ । पहिले पहिले नेपाली कांग्रेसको सशक्त भातृसंस्थाको रुपमा परिचित नेविसंघ पछिल्लो समय पार्टी नेताहरुको व्यक्तिगत स्वार्थका कारण इतिहासकै कमजोर अवस्थामा पुगेको स्वयम नेविसंघका नेताहरु र पार्टी नेताहरुले पनि स्वीकार्ने गर्छन् ।
नेविसंघले सार्वजनिक गरेको पछिल्लो कार्यतालिका अनुसार पुस २८ गतेदेखि १४ औं महाधिवेशन हुनुपर्ने हो । तर, महाधिवेशन मिति सँघारमा आईसक्दा पनि जिल्ला अधिवेशन नै सकिएको छैन। महाधिवेशनको लागि जिल्लाबाट प्रतिनिधि आउनुपर्छ।
महाधिवेशन आउन ४ दिन बाँकी हुँदा मंगलबारसम्म १६ जिल्लाले मात्रै अधिवेशन सकेका छन्।
नेविसंघका सभापति नैनसिंह महरले महाधिवेशनको मिति चार दिन बाँकी रहेका बेला ६१ जिल्लामा छिट्टै अधिवेशन हुन्छ, मिति तोकिसकियो भन्ने जवाफ दिईरहेका छन् ।
नेविसंघ नेतृत्वले आफैले सार्वजनिक गरेको कार्यतालिका अनुसार अधिवेशन गर्न सकेन। पुस २० अघि नै क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन सकिनुपर्थ्यो।
यतिवेला नेविसंघ नेतृत्वले पार्टीको महासमिति बैठक र १५ पुसदेखि क्याम्पसहरूमा जाडो बिदालाई देखाएर कार्यातालिका अनुसार महाधिवेशन गर्न नसकेको गैजिम्मेवार जवाफ दिन थालेको छ । के क्याम्पसमा हुने जाडो विदा र पार्टीको महाधिवेशन मितिले नेविसंघ अधिवेशनलाई असर पार्छ भन्ने नेविसंघ नेतृत्वलाई थाहा थिएन ? के हचुवाका भरमा कार्यतालिका घोषणा गरिएको हो ?
महासमिति बैठक पुस पहिलो साता सकिएको थियो। जिल्ला अधिवेशन गराउन भन्दै नेविसंघले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको छ। नेविसंघ विधानअनुसार दुई वर्ष अन्तरालमा महाधिवेशन हुनुपर्छ। महर नेतृत्वको कार्यसमितिको म्याद भदौमै सकिए पनि विधान अनुसार तीन महिना म्याद थप गरिएको थियो।
त्यो म्याद पनि घर्केपछि कांग्रेस केन्द्रीय समितिले महाधिवेशन गराउन भन्दै पुनः दुई महिना म्याद थपिदियो। महर नेतृत्वको कार्यसमितिको म्याद माघ २ मा सकिँदैछ।
उता त्रिभुवन विश्वविद्यालयले फागुनमा स्ववियु चुनाव घोषणा गरिसकेको छ । अब नेविसंघ महाधिवेशन गर्ने गरी तयारीमा जुट्नु कि महाधिवेशनको तयारीमा जुट्नु ?
१४ औं महाधिवेशनको समय घर्किन लागेकोमा चिन्तित देखिएका महामन्त्री कुन्दनराज काफ्ले पनि महाधिवेशन गराउनका लागि अहिलेकै कार्यसमितिलाई निरन्तरता दिनुपर्नेमा पक्षमा उभिएका छन्।
उनले भने, ‘यही कार्यसमितिले महाधिवेशन गर्छ र नयाँ समितिलाई नेतृत्व हस्तान्तरण गर्छ ।’ उनले थपे, ‘महाधिवेशन गर्न छ महिना समय चाहिन्छ भनेकै थियौं, पार्टीले सुनेन।’
पार्टीले नेविसंघको कुरा नसुन्दा समस्या हुने गरेको उनले दाबी गरे।
‘पार्टी नेतृत्वले हामीले भनेको सुने पो१,’ उनले भने, ‘निरंकुश छ जे इच्छा लाग्छ त्यही गर्छ, हाम्रा कुरा सुन्दैन।’
महाधिवेशन गराउनकै लागि नेविसंघ तदर्थ समिति बनाउन नहुने काफ्लेले प्रष्ट पारे ।
‘अरु समिति बनाएर महाधिवेशन गर्नेतिर लाग्न हुन्न,’ उनले भने, ‘महाधिवेशन गर्ने वातावरण तयार भयो, केही समयमा हुन्छ।’
माघ २ मा नेविसंघ अहिलेको कार्यसमिति स्वतः भंग हुने भएकोले त्यसअघि नै पार्टीको बैठक बसेर आवश्यक निर्णय लिने कांग्रेसमा देउवा निकट नेताहरुको तयारी छ ।








