ज्ञापनपत्र बुझाउन निवासमै पुगेका नेविसंघ नेताहरुलाई देउवाको यस्तो निर्देशन



काठमाडौं पुस, २९–
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघ १० मा बस्ने नेपाली कांग्रेसको केनद्रीय समिति बैठकले नेविसंघको समस्या समाधान गर्ने बताएका छन् । आइतबार सभापति देउवालाई ज्ञापनपत्र बुझाउन पुगेका नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोलीलाई देउवाले उक्त कुरा बताएका हुन् । नेविसंघको वर्तमान कार्यसमितिको दोस्रो पटक थप गरिएको म्याद माघ २ गते समाप्त हुने भएकाले आगामी यात्रा के हुने भन्ने अन्योलताका साथ नेविसंघ नेताहरु सभापति देउवालाई भेट्न उनकै निवास पुगेका हुन् ।
जवाफमा सभापति देउवाले केन्द्रीय कार्यसमितिबाट संस्थागत रुपमा निर्णय हुने भन्दै महाधिवेशन केन्द्रित गतिविधिलाई निरन्तरता दिन निर्देशन दिएको नेविसंघ नेताहरुले जानकारी गराए । उक्त टोलीमा नेविसंघका सबै पक्षका नेताहरुको उपस्थिति रहेको थियो ।
टोलीले पार्टी सभापति देउवा समक्ष १२ औ महाधिवेशन अहिलेकै कार्यसमितिले गर्ने वातावरण निर्माण गरिदिन आग्रह पनि गरेको नेविसंघका एक नेताले जनाए ।
यसअघि वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने निष्कर्षसहित उपाध्यक्षहरू पुष्पाकुमार शाही, संजय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले सभापति देउवासामू राजीनामा बुझाएका थिए । त्यस्तै शनिबार मात्रै सहमहमन्त्री ललिता सुनार र हरीहर शर्मासहित ४० जना नेविसंघ नेताले राजीनामा दिईसकेका छन् । १० गतेको बैठकमा यसबारे पनि पार्टीमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७५, आइतबार  ८ : ५४ बजे