काठमाडौं माघ, ३–
नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले गोविन्द केसीलाई उचालेर पटकपटक अनसन बसाल्ने गरेको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टराईले नेपाल बाहिर विद्यार्थी बेच्न खुलेका काराखानाले उनलाई अनसन बस्न लगाएको दाबी गरेका हुन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईले चिकित्सा शिक्षा विधेयकले डा. केसीका माग पूरा गरिसकेको जिकिर गरे ।
विधेयकको राम्रोसँग अध्ययन नै नगरी फेरि अनसनमा बसेर डा. केसीले चिकत्सा शिक्षा विधेयकको काँधमा बन्दुक राखेर अन्तै पड्काएर द्वन्द्व निम्त्याउन खोजेको नेता भट्टराईले बताए ।
केसीको पछाडि मात्र लाग्ने हो भने कुनै पनि ठाउँमा अझै १० वर्ष अस्पताल खोल्न नसकिने भएकाले समितिले स्वविवेक प्रयोग गरेर उनका मागमा अझ केही थपेर विधेयक संसदमा पेस गरेको भट्टराईको भनाइ छ । ‘केसीले टेक्दैमा कुनै पनि ठाउामा सुन फल्दैन, उनी त्यति पबित्र पनि छैनन्, सुन फलाउन मेहनत गर्नु पर्छ,’ उनले भने ।
भट्टराईले नेकपा या कांग्रेसको नेता भएको भरमा अब मेडिकल कलेज चलाउने सपना कसैलाई नदेख्न चेतावनी दिदै भने अघि भने, ‘विधयेक पास भए पछि अबको ५ वर्ष भित्रमा सबै प्रदेशमा सरकारी मेडिकल कलेज अनिवार्य खुल्ने छ ।’