बुटवल माघ, ४–
नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफू चढ्दै आएको गाडी फिर्ता गरेका छन्।नेता पोखरेलले अनियमितताको आशंका लागेपछि आफूले चढ्दै आएको गाडी फिर्ता गरेको बताएका हुन् ।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरलाई नेता पोखरेलले आफूले चढ्दै आएको लु १ झ ४४७ नम्बरको टाटा स्टोर्म गाडीको चाबी र ब्लुबुक बुझाएका हुन्।
गाडी फिर्ता गर्दै नेता पोखरेलले भने, ‘यो गाडी खरिदमा अनियमितता र अपारदर्शिता भयो भन्ने प्रश्न उठिसकेपछि मेरो नैतिकताले यो गाडी चढ्न दिएन ।’
सार्वजनिक लेखा समितिले गाडी खरिदमा अनियमितता भएको आशंका गर्दै उपसमिति बनाएर छानबिन गरिरहेको छ। सार्वजनिक लेखा समितिको छानबिनले दोषी नदेखिएपछि र प्रतिवेदनले अनियमितता नभएको तथ्य सार्वजनिक गरेपछि मात्रै फेरि गाडी चढ्ने उनको भनाइ छ ।
कांग्रेस संसदीय दलका नेताले गाडीको चाबी र ब्लुबुक बुझाएपछि सचिवालयका सचिव पुन मगरले गाडी सुरक्षित साथ राख्ने प्रतिक्रिया दिए। यसअघि सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले पनि गाडी फिर्ता गरेका थिए।