मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानिराखौ अहिले सम्म कती नेपाली भुमी भारतबाट मिचिएको छ ? कस्तो छ सिमानाको अवस्था ?



काठ्माण्डौ-
एजेन्सि-

भारतसंग जोडिएका नेपालका २६ जिल्लामध्ये २१ जिल्लामा सीमा विबाद देखिदै आएको परराष्ट्र मामिलाका जानकारहरुले बताउने गरेका छन ।  भारतले २१ जिल्लाका ७१ भन्दा बढि स्थानमा नेपाली सीमा अतिक्रमण गरेको छ ।

बिभिन्न समयमा भएका अध्ययनहरुले देखाए अनुसार  भारतसंग जोडिएका नेपालका चार जिल्लाहरु महोत्तरी, धनुषा, डडेलधुरा र बैतडी मात्र अहिलेसम्म अतिक्रमण भएको छैन । अन्य जिल्लाको सीमा हेर्ने हो भने भारतले लगभग ६० हजार हेक्टरभन्दा बढी नेपाली भू–भाग भारतले मिचेको छ ।

यी मध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रको मात्रै ३६ हजार नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लाहरुमा ९ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित हुन पुगेको छ ।

यतिमात्रै होइन,भारतले पूर्व मेचिदेखि पश्चिम माहाकालीसम्म पुग्दा भारतसँग सीमा जोडिएका १८ जिल्लामा चारसय ७४ सीमास्तम्भ भारतले गायब पारेको छ भन्ने प्रमाण विभिन्न सरकारी तथ्याङमा नै पाइन्छ । नेपाल र भारतबीच १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा सीमा जोडिएको छ ।

भारतसँग सीमा जोडिएका २६ जिल्लामध्ये १८ जिल्लामा मात्र नेपालको तर्फबाट सशस्त्र प्रहरी क्याम्प स्थापना गरिएको छ । त्यो पनि सीमाभन्दा ३–४ किलोेमिटर भित्र रहेको छ ।

भारतसंग सीमा जोडिएका चितवन, दाङ , इलाम, पाँचथर, ताप्लेजुङ, डडेलधुरा, बैतडी र दार्चुलामा नेपालको तर्फबाट सीमा सुरक्षाका लागि कुनै सशस्त्र प्रहरीको टोली अझैसम्म राखिएको छैन । त्यही छिमेकी चीनसंग नेपालको १४ सय १५ किलोमिटर सीमा जोडिएको छ ।

ती क्षेत्रमा साना चौकी बाहेक सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाएइएको छैन । भारतले नेपालतर्फको सीमा क्षेत्रमा बाक्लो सीमा सुरक्षाबल तैनाथ गरेको छ ।

नेपाल भारत सीमामा भारतले ४५ हजार  सुरक्षाबल  तैनाथ गरेको छ । अर्थात् प्रत्येक एक किलोमिटरमा २५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ  ।

औषतमा प्रत्येक तीन किलोमिटरमा एक क्याम्प हुन आउछ । नेपालले भने सीमा सुरक्षाका लागि ४५ सय देखि ५ हजारको विचमा सशस्त्र प्रहरी खटाएको छ,त्यो पनि सीमाभन्दा निकै टाढा ।

यस्तो छ नेपाल भारत सीमामा रहेका सिमा स्तम्भहरुको अवस्था

गृहमन्त्रालयले गरेको एक अध्ययन अनुसार सात सय ६० मुख्य स्तम्भ ९ जंगे पिलर मध्ये चार सय ९४ मात्र ठीक अवस्थामा छन् । एक सय ९५ वटा मर्मत गर्नुपर्ने, १० वटा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् भने ३३ खोलाले बगाएको छ ।

सीमामा रहेका सहायक स्तम्भ कूल एक हजार तीन सय १६ वटा रहेका छन् । यी मध्ये ४५ वटा फेला परेका छैनन् , खोलाले बगाएकामा एक सय ११ परेका छन् ।

पुनर्निर्माण गर्नुपर्ने ३३ वटा र मर्मत गर्नुपर्ने दुई सय ४३ वटा रहेको बताइन्छ । साना स्तम्भ तीन हजार आठ सय ७१ वटा छन् भने एक हजार ६ सय ९९ वटा सामान्य अवस्थामा छन् ।

हराएका भनिएका सीमा स्तम्भ कि त भारतीय पक्षले रातारात उखेलेर फालेको छ भने कतिपय प्राकृतिक प्रकोपका समयमा हराएका छन् ।

हराएका स्तम्भमा सहायक स्तम्भ ४५ वटा र साना स्तम्भ चार सय ३१ वटा छन् । नेपालका पाँच हजार ९ सय ४७ कूल सीमा स्तम्भमध्ये चीनतर्फ ११ र भारततर्फ पाँच हजार ९ सय ३६ छन् ।

तीन हजार ८० सीमा स्तम्भमात्र सामान्य अवस्थामा रहेका छन् । भारततर्फ रहेका अधिकांश स्तम्भ मर्मत गर्नुपर्ने र केही पुनर्निर्माण गर्नुपर्ने अवस्थाका छन् । कतिपयलाई नदीले पनि बगाएको बताइन्छ ।

बिभिन्न श्रोतहरुबाट-

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार  ७ : ३४ बजे