मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरधनी सांसदले छोडेनन् घरभाडा बुझ्न !



काठमाडौं माघ, ६–राष्ट्रिय सभा विधायन समिति सभापति परशुराम मेघी गुरुङको भक्तपुर सूर्यविनायक नगरपालिकाको सुवर्णेश्वर आधारभूत विद्यालय सँगै घर छ । तर उनी संसद् सचिवालयबाट नियमित घरभाडा बुझ्ने सांसदको सूचीमा पर्छन् ।

सचिवालयबाट उनले घरभाडाबापत मासिक २५ हजार ६ सय ८ रुपैयाँ बुझछन् । उनले पुसको घरभाडासमेत बुझिसके । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘सुवर्णेश्वर मन्दिर सँगै उहाँको घर छ, म पनि पुगेको छु,’ सूर्यविनायक नगरपालिकाका एक जनप्रतिनिधिले भने, ‘घर हुँदाहुँदै भाडा लिनु त ठीक भएन ।’ गुरुङले कान्तिपुरसँग मंसिर २३ मा भक्तपुरमा आफ्नो घर भएको बताएका थिए । संघीय संसद्को तेस्रो अधिवेशन पुस ११ मा सुरु भएपछि सचिवालयले सांसदलाई काठमाडौंमा घर भए/नभएको यकिन गर्न फाराम भराएको थियो । तर गुरुङले घर नभएको भन्दै फाराममा हस्ताक्षर गरेको स्रोतले जनाएको छ ।

संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐनमा काठमाडौं उपत्यकामा घर नहुने सांसदले मात्रै घरभाडा पाउँछन् । घरभाडा लिनेमा सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्ण पनि छन् । पुस ११ पछि सचिवालयले भराएको फाराममा उनले पनि आफ्नो काठमाडौंमा घर नभएको उल्लेख गरे । कान्तिपुरसँग कात्तिक ३० मा भने बाँसबारीमा घर भएको जानकारी दिएका थिए । उनले पनि पुसको घरभाडा लिएका छन् ।

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिकी सभापति तारादेवी भट्ट पनि घरभाडा बुझ्ने सूचीमा छिन् । उनले पनि कान्तिपुरसँग कात्तिक २९ मा भैंसेपाटीमा कान्छा छोराको नाममा रहेको घरमा बस्ने गरेको बताएकी थिइन् ।

नियमअनुसार घर नहुने सांसदले मासिक १८ हजार रुपैयाँ पाउँछन् । समिति सभापतिले भने २५ हजार ६ सय ८ रुपैयाँ घरभाडा लिन्छन् । काठमाडौं उपत्यकामा घर हुने सांसदले पनि अझै घरभाडा लिइरहेका छन् । काठमाडौंमा घर हुने सांसदले समेत पुसमा अध्यावधिक गरेको विवरणमा घर नभएको भन्दै भाडा असुली गरेका हुन् ।

नेकपाकी सांसद नविना लामाको पेप्सीकोलामा घर छ । सचिवालय विवरणमा घर नभएको भन्दै हस्ताक्षर गरेकी छन् । कान्तिपुरसँग मंसिर ११ मा उनले भनेकी थिइन्, ‘पेप्सीकोलामा श्रीमानको नाममा घर छ ।’ तर उनले पुसको तलबसँगै घरभाडा पनि लिएकी छन् । संसद् सचिवालयका एक पदाधिकारीले भने, ‘श्रीमान् र माइतीको घरमा बसेर मेरो घर छैन भन्नुचाहिँ उपयुक्त होइन ।’

स्रोतका अनुसार पुससम्म घरभाडा लिने सूचीमा कांग्रेस सांसद चित्रलेखा यादव पनि छिन् । उनको ललितपुर भैंसीपाटीमा घर छ । कात्तिक ३० मा कान्तिपुरसँग उनले छोरीलाई दिन बनाएको घरमा बस्ने गरेको बताएकी थिइन् । भनेकी थिइन्, ‘मेरो आफ्नै भन्ने कि नभन्ने, छोरीलाई दिन बनाएको हो ।’ उनले आफ्नो घर नभएको भन्दै भाडा लिने गरेकी छन् । संसद् सचिवालयमा पुसमा भरेको फाराममा पनि उनले घर नभएको भन्दै हस्ताक्षर गरेको स्रोतले जनाएको छ । ‘उहाँ शिक्षामन्त्री हुँदा घर र फार्म हाउसमा नै पुगेको छु,’ शिक्षा मन्त्रालयका एक कर्मचारीले भने ।

नेकपाका समानुपातिक सांसद उद्योगी मोतीलाल दुगडले पनि पुसको घरभाडा बुझेका छन् । तलब पठाउनुअघि संसद्ले पुसमा भराएको फाराममा उनले पनि काठमाडौं उपत्यकामा आफ्नो घर नभएको भन्दै हस्ताक्षर गरेका छन् । तर कान्तिपुरसँग कात्तिक १५ मा उनले भनेका थिए, ‘मेरो नक्सालमा घर छ ।’ काठमाडौंमा घर हुनेले मर्मत खर्चबापत ९ हजार पाउँछन् भने नहुनेले भाडाबापत १८ हजार पाउँछन् । ‘उहाँजस्तो उद्योगपतिले नौ हजारमा किन लोभ गर्नुभएको होला ?’ एक सांसदले भने ।

सर्लाहीका सांसद रामेश्वर राय यादवले मंसिर ३ मा कान्तिपुरसँग ललितपुरको इमाडोलमा घर भएको जानकारी दिएका थिए । सचिवालयले पुसमा भराएको फाराममा भने घर छैन भन्दै हस्ताक्षर गरेको स्रोतले जनाएको छ । सचिवालयले पुसको घरभाडा उनको बैंक खातामा पठाएको छ ।

कांग्रेसका सांसद किशोरसिंह राठोरले कात्तिक ३० मा कान्तिपुरसँग काठमाडौंको बालुवाटारमा घर भएको जानकारी दिएका थिए । उनले पनि पुसको घरभाडा लिएका छन् । श्रीमान्सँगै मन्त्री क्वार्टरमा बस्ने पूर्वसभामुख एवं सांसद ओन्सरी घर्ती र सत्य पहाडीले पनि अझै घरभाडा बुझिरहेका छन् । ओन्सरीका श्रीमान् वर्षमान पुन जलस्रोत मन्त्री र पहाडीका श्रीमान् शक्तिबहादुर बस्नेत वनमन्त्री हुन् । ‘उहाँहरूको घर काठमाडौंमा नभएको सबैलाई थाहा छ । घरभाडामा लिए पनि उहाँहरू क्वार्टरमा बसुन्जेल भाडा लिनु उचित होइन,’ नेकपाका एक नेताले भने ।

काठमाडौंमा घर भएका सांसदको विवरण सार्वजनिक भएपछि २१ सांसदले आफ्नो घर काठमाडौंमा भएको सचिवालयमा जानकारी गराइसकेका छन् । उनीहरूले यसअघि लिएको घरभाडासमेत फिर्ता गरिसकेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  २ : १५ बजे