मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीको मागमा आवासीय चिकित्सक संघको ऐक्यवद्धता, माग पूरा नगरे थप आन्दोलनको चेतावनी



काठमाडौं माघ, ६–
गत २५ गतेदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको अनसनप्रति राष्ट्रिय आवासीय चिकित्सक संघले केसीले ऐक्यवद्धता जनाएको छ । आवासीय चिकित्सक संघले डा. केसीले जुन माग राखेर अनसन बसेका छन् ति सम्पूर्ण मागमा आफ्नो ऐकेवद्धता रहेको प्रष्ट पारेको छ ।
संघले आइतबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत पेसागत स्वास्थ्यकर्मी तथा आमनेपालीको स्वास्थ्य सेवा पहुँचलाई मध्यनजर गर्दै दुर्गमसम्म सेवा पुगोस् भन्ने आसयसहित गरिएको सत्याग्रहमा आफ्नो समर्थन रहेको उल्लेख गरेको छ ।

संघले पहिले भएका सहमतिअनुरूप चिकित्सा शिक्षा ऐन पारित गर्न र सत्याग्रहीको मागप्रति गम्भीर भई उनको जीवन रक्षा गर्न पनि अपिल गरेको छ।

‘साथै यस संघमा आवद्ध सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सरकारको यस निर्मम र लापरवाही कदमको विरोधस्वरूप कार्यक्षेत्रमा कालोपट्टी बाँधेर विरोध जनाउन आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

संघले डा केसीको अनसन तोडाउन सरकारले पहल नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमा आफूसँग गरिएका सहमतिअनुसार व्यवस्था गरिनुपर्ने लगायतका माग राखेर डा केसी पुस २५ गतेदेखि इलाममा अनसन बसेका थिए।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शुक्रबार बिहान उनलाई हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो।

उनलाई अहिले त्रिवि शिक्षण अस्पतालको आइसियूमा राखिएको छ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ६ : ४४ बजे