मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीविरुद्ध मोर्चाबन्दी गर्दै बामदेव, निवासमै बोलाउन थाले गोप्य बैठक



काठमाडौं माघ, १७– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता बामदेव गौतमले फेरि आफूलाई सक्रिय बनाउन थालेका छन् ।

ललितपुरको भैँसेपाटीस्थित आफ्नो निवासमा गौतमले आफू निकटका नेताहरूलाई बोलाएर गोप्य बैठकहरू गर्न थालेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका कारण तनावमा परेका गौतमले फेरि आफूलाई सक्रिय बनाउन थालेका हुन् ।

गौतमले केही दिन अगाडि नेकपाका दोस्रो तहका नेताहरूलाई पालैपालो बोलाएर कुराकानी गरेका छन् । गौतमले के कुराकानी गरे भनेर बाहिर भनिएको छैन ।

गौतमसँग कुराकानी गरेर आएका एकजना केन्द्रीय सदस्यका अनुसार ओलीले माओवादी केन्द्रसँगको एकीकरणलाई चासो नदेखाएको भन्दै ओलीविरुद्धको मोर्चा बनाएर जान प्रस्ताव गरेका छन् ।

ओलीविरुद्धको मोर्चा बनाएर तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरू र संगठनहरूलाई समायोजन गर्न दवाव सिर्जना गर्ने बारेमा कुराकानी भएको उच्च स्रोतले जनाएको छ ।

यद्यपी ओलीविरुद्धको मोर्चा बनाउने बारेमा कुरा भने मिलिसकेको छैन । गौतमलाई भेट्न गएका नेताहरूले ओलीविरुद्ध जाने हिम्मत गर्न नसकेपछि ठोस निस्कर्ष आएको छैन ।

ओलीले पछिल्लो समय पार्टीको बैठक नबोलाएकोमा पनि गौतम रिसाएका छन् । माघ महिनाभित्र पार्टी समायोजन गरिसक्ने भनिएको छ । तर, कुनै काम हुन सकेको छैन ।

समायोजनका लागि मस्यौदा बनाउन गठन गरिएको कार्यदलको बैठक समेत बस्न सकेको छैन । शीर्ष नेताहरूको आ–आफ्नै स्वार्थ भएका कारण बैठक बस्न नसकेको भनेर आलोचना भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले अबको एक हप्ताभित्र बैठक नबोलाए पुनः हस्ताक्षरसम्मको चेतावनी दोस्रो तहका नेताहरूले दिएका छन् । गौतमले पनि दोस्रो तहका नेताहरूलाई दबाब सिर्जना गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार  २ : ३६ बजे