मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसकारण कांग्रेस संसदीय दलको बैठक बस्यो



काठमाडौं माघ, १७–
नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे धारणा तय गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसको बैठक बसेको हो । आजै प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ ।

कांग्रेस राष्ट्रियसभाका दलका नेता सुरेन्द्र पाण्डेले दलको बैठकबाट दिउँसो १ र २ बजेका लागि बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे धारणा तय गरिने बताए ।

उनका अनुसार दुवै सदनको बैठकमा विरोध गर्ने वा नगर्ने र राष्ट्रियसभामा पुगेको चिकित्सा शिक्षा विधेयकमा संशोधन हाल्ने कि नहाल्ने भन्नेबारे दलको बैठकले निर्णय लिने छ ।

आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि आफ्नो रणनीति तय गर्न दलको बैठक बसेको उनले बताए ।

आजको राष्ट्रियसभाको बैठकको कार्यसूचीमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि दफावार छलफल हुने उल्लेख छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथिको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन् ।

आजको बैठकबाट विधेयक पारित भएमा प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाइनेछ । सो पश्चात् विधेयकले ऐनको रुप लिने छ र कानुनको रुपमा लागू हुनेछ ।

सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गर्दैगर्दा डा। गोविन्द केसी भने २३ दिनदेखि अनसनमा छन् । पुष २५ देखि इलामबाट १६ औं अनसन थालेका डा. केसीले १५औँ अनसनका क्रममा सरकारले गरेको सहमतिअनुसार नै विधेयक ल्याउनुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार  ६ : ४२ बजे