अत्याधिक चिसो हावाका कारण अमेरिकामा २१ जनाको ज्यान गयो, त्यहाँको तापक्रम माइनस ४८ डिग्री



काठमाडौं माघ, १८–
अत्याधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा २१ जनाको मृत्यु भएको छ।

त्यहाँको तापक्रम माइनस ४८ डिग्री पुगेको छ। यो तापक्रम अन्टार्टिका ध्रुवीय क्षेत्रको भन्दा न्यून हो। चिसोले विभिन्न राज्यमा हवाई सेवा अवरुद्ध छ भने विद्यालय र व्यवसाय बन्द भएका छन्। मृत्युहुनेहरूमध्ये धेरै घरबारबिहीन नागरिक रहेको बताइएको छ।

आर्कटिक ध्रुवीय क्षेत्रबाट बहेको हिउँ आँधीका कारण अत्यधिक चिसो अनुभव भएको बताइएको छ।

सरकारले एक दर्जन राज्यका नागरिकलाई घरभित्रै बस्न सरकारले अनुरोध गरेको छ। धेरै वर्षपछि यति बढी चिसो अनुभव गरिएको हो।

चिसोकै कारण अभूतपूर्व दृश्यहरु जताततै देखिएका छन्। जस्तै, मिसिगन तलाउको पानी जमेको छ भने अहोरात्र खस्ने नियागारा फल्सको पानी जमेर रोकिएको छ।

अमेरिकाको तेस्रो ठूलो सहर सिकागोको मौसम आजसम्मकै सबैभन्दा चिसो छ। सिकागोमा नयाँ रेकर्ड कायम भएको छ, र यो अझ तल झर्ने अनुमान गरिएको छ।

‘यो चिसो ऐतिहासिक छ,’ सिकागोका मेयर राहम इमानुएलले भने, ‘यो चिसोले ज्यानै लिन सक्दछ, र त्यही अनुसार सम्पूर्ण बन्तोबस्त गरिनु आवश्यक छ।’

विल्डी सिटीको बिहानको तापक्रम माइनस २२ डिग्री सेल्सियस पुगेको छ। अति चिसो हावाका कारण यहाँ माइनस ५० डिग्री सेल्सियस तापक्रम पुगेसरह लाग्दछ।

यहाँको तापक्रम अलास्काको राजधानीको भन्दा बढी छ र अन्टार्कटिका भन्दा यहाँ बढी चिसो छ।

‘यहाँ हिउँको डल्लाकै छेउमा बसेजस्तो अनुभव हुँदैछ,’ लियोन गिल्बर्टले भने, ‘मेरो छाला नै गाँठो परेजस्तो भएको छ।’

स्यान्डविच पसलका व्यवस्थापक डानियल गोन्जालेजले पनि अरु जस्तै समयमै पसल खोल्न सकेनन्।

‘अरू दिनभन्दा ढिलो अर्थात् बिहान ५ बजे पसल खोल्न पुगें। मैले दुईवटा बाक्ला लुगा लगाएको थिएँ, हुड लगाएको थिएँ, त्यसमाथि ठूलो कोट थियो । अनुहार ढाक्ने मास्क थियो र अरु कपडा पनि लगाएको थिएँ, तैपनि मलाई चिसो अनुभव भइरहेको थियो,’ उनले भने।

सिकागोको ओहेयर बिमानस्थलमा पनि व्यवस्थापनको कार्य जटिल बनेको छ। कर्मचारीलाई बाहिर १५ मिनेटभन्दा बढी समय काम गर्न सक्ने अवस्था थिएन। १८०० भन्दा बढी उडान रद्द गरिएका थिए। आम्ट्राक रेलसेवाले पनि रेलसेवा बन्द गर्नु परेको छ।

अमेरिकी हुलाक सेवाले इन्डियाना, मिसिगन, इलेनोइस, ओहायो, आयोवा, डकोटा र नेब्रास्कामा चिठीपत्र र अरू सामान ढुवानी स्थगित गरेको छ।

इलेनोइस, मिसिगन र विस्कन्सिन राज्यमा आपतकालीन उपायहरू घोषणा गरिएको छ। मिसिगनकी गभर्नर ग्रेचेन ह्वीटमरले सरकारी कार्यालयहरु बिहीबारसम्म बन्द रहने घोषणा गरेकी छन्। अत्यावश्यकबाहेकका अरू कर्मचारीलाई घरमै बस्न भनिएको छ।

प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार  ५ : १६ बजे