काठमाडौं माघ, १९– कूटनीतिक मामिलामा विवादित बन्दै गएपछि सरकारले काठमाडौंस्थित अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो नीति, प्राथमिकता र कूटनीतिक सक्रियताबारे जानकारी गराएको छ। प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कूटनीतिक नियोगका प्रमुखलाई ब्रिफिङ गरे। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको भूगोल, भूराजनीति, भाषा र सांस्कृतिक सम्बन्ध र बाध्यतालाई अन्तराष्ट्रिय समुदायले बुझ्नुपर्ने बताए। उनले शान्तिप्रक्रियाको केही बाँकी काम सम्पन्न गर्न सरकार आफैं सक्षम रहेको समेत बताए।
एक पाँचतारे होटेलमा आयोजित दिवाभोजसहितको छलफलमा ज्ञवालीले सरकारले गएको वर्ष सम्पादन गरेका काम र वर्तमान राष्ट्रिय÷अन्तराष्ट्रिय चासो स्पष्ट पार्ने प्रयास गरेका थिए। कार्यक्रममा विदेश भ्रमणदेखि नेपालमा भएका अन्तराष्ट्रिय सम्मेलनसमेतबारे जानकारी दिइएको थियो।
सरकारको पछिल्लो चासो, द्वन्द्वकालीन न्याय, भेनेजुएलासम्बन्धी विज्ञप्ति, आगामी लगानी सम्मेलनलगायतका विषयमा स्पष्ट र आश्वस्त पार्न भेला गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पछिल्लो समय कूटनीतिक समुदायले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबारे वक्तव्य दिएका थिए। त्यस्तै भेनेजुएलाबारे पहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र पछि सरकारले दिएको वक्तव्यबारे अमेरिकाले असन्तुष्टि जनाएको थियो। यिनै विषयलाई सरकारले औपचारिक र अनौपचारिक रूपमा सम्बोधन गर्न खोजेको एक परराष्ट्र अधिकारीले बताए। नेपाल कूटनीतिक परिबन्दमा नपरेको स्पष्ट पार्न यो कार्यक्रम गरिएको उनको भनाइ थियो। उक्त विज्ञप्तिले नेपाल–अमेरिका सम्बन्धलाई असर पारेको पृष्ठभूमिमा यो कार्यक्रम आयोजना गरिएको ती परराष्ट्र अधिकारीले बताए।
सरकार बनेपछि तेस्रो पटक आयोजित ब्रिफिङमा काठमाडौंमा रहेका प्रायः सबै कूटनीतिक नियोगका प्रमुख उपस्थित थिए। तर अमेरिकी राजदूत र्यान्डी बेरी कार्यक्रममा गएनन्। उनी काठमाडौंमै रहेर पनि प्रधानमन्त्रीसमेत उपस्थित ब्रिफिङलाई बेवास्ता गर्नुले कूटनीतिक अर्थ राख्ने अधिकारीहरुले बताए। सरकारले पनि अमेरिकी राजदूतको अनुपस्थितिप्रति चासो देखाएको छ। अमेरिकाले भेनेजुएला प्रकरणमा सरकारले जारी गरेको वक्तव्यले दाहालकै वक्तव्यलाई बल पुर्याएको निष्कर्ष निकालेको थियो।
यद्यपि औपचारिक छलफलमा भेनेजुएलाको प्रसंग नउठेको सल्लाहकार भट्टराईले जानकारी दिए। ‘धेरैजसो प्रश्न लगानी सम्मेलनसँग सम्बन्धित थिए, जसको जवाफ अर्थमन्त्रीले दिनुभयो। भेनेजुएला र द्वन्द्वकालीन मुद्दाका विषयमा औपचारिक छलफलमा प्रश्न उठेन,’ भट्टराईले भने। तर भोजनका क्रममा भएको अनौपचारिक छलफलमा भेनेजुएलासहित विविध प्रसंगमा छलफल भएको थियो।
कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको पछिल्लो अवस्थाबारे लिखित मन्तव्य पढेर सुनाए। कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई नेपालको परराष्ट्र नीति र त्यसले बाह्य मुलुकलाई पार्ने प्रभाव तथा नेपालमा हुने लगानी सम्मेलनबारे जानकारी गराएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले बताए। मन्त्री ज्ञवालीले नेपालको आन्तरिक नीति, तिनमा अन्तराष्ट्रिय समुदायको प्रभाव र आन्तरिक नीतिले बाह्य सम्बन्धमा पार्ने र पारेका असरगरी तीनमा भागमा आफ्ना कुरा राखेका थिए। उनले गतवर्ष विदेशसँगको नेपालको कूटनीति कस्तो रह्यो भन्नेबारे पनि जानकारी दिए। सरकारले जनकेन्द्रित कार्यक्रमहरू गरिरहेको र एकपछि अर्को कार्यक्रम अघि बढेको पनि उनले बताए। राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, पारदर्शिता, समानता र असल शासनलाई अंगालेर सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा अग्रसर रहेको बताए।
‘सरकार लोकतान्त्रिक दायराभित्र रहेर राजनीतिक बहुलवादमा अग्रसर छ। आर्थिक र सामाजिकसँगै राजनीतिक सशक्तीकरण गर्दै मुलुकको विकासमा अघि बढ्छौँ,’ ज्ञवालीले भने। शान्तिप्रक्रियाको बाँकी काम सरकारले संवेदनशीलताका साथ गरिरहेको उनको भनाइ थियो। ‘नेपालको भूगोल, भूराजनीति, भाषा, सांस्कृतिक सम्बन्धका र हाम्रा केही बाध्यतालाई अन्तराष्ट्रिय समुदायले बुझ्नैपर्छ,’ उनले भने।