विराटनगरमा मनाईयो नोना कोइरालाको १२ औं स्मृति दिवस



विराटनगर माघ, १९–
नेपाली कांग्रेसकी नेतृ नोना कोइरालाको १२ औं  स्मृति दिवस मनाईएको छ । शनिबार नोना कोइराला स्मृति प्रतिष्ठानको आयोजनामा उक्त स्मृति दिवस कार्यक्रम सम्पन्न गरिएको हो । प्रदेश नम्बर १ का प्रदेश प्रमुख डा. गोविन्द तुङ्वाहाङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान अवस्थामा राजनीतिमा संस्कार तथा नैतिकता हराएको बताए । उनले त्यसरी राजनीतिमा हराएको नैतिकता र संस्कारका कारण नेपाली जनताले त्यसको असर भोग्नुपरेको बताए ।

डा. केसीको माग पूरा नगरी सरकारले जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको नेता कोइरालाको भनाइ छ । उनले सरकारले डा. केसीमाथि मात्रै नभएर नैतिकता र सामाजिक न्यायमाथि समेत धावा बोलेको आरोप लगाए । त्यस्तै, कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले विराटनगरको शैक्षिक विकास, सामाजिक विकासमा स्वर्गीय नोना कोइरालाको महत्वपूर्ण योगदानलाई विराटनगरवासीले कहिल्यै नविर्सने बताए ।

उक्त कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी लगायतले नेतृ कोइरालाकाबरेमा चर्चा गरेका थिए । यो पटक नोना कोइराला पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टका सम्पादक हरीबहादुर थापालाई प्रदान गरिएको थियो ।प्रतिष्ठानले विराटनगर भर नै विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको छ ।

प्रकाशित मिति : माघ १९, २०७५ शनिबार  २ : ४० बजे