काठमाडौं माघ, २०–
सभामुख कृष्णबहादुर महराले कांग्रेसलगायत पार्टीले चिकित्सा शिक्षा विधेयकको विरोध गर्नुको औचित्य नभएको बताएका छन् ।
कांग्रेसको सभामुखले संसदमा तटस्थ भूमिका खेल्न नसकेको आरोप लागिरहेका बेला सभामुख महराको यस्तो भनाइ सार्वजनिक भएको हो । महराले संसद्ले प्रक्रिया पुर्याएर विधेयक पारित गरेकाले यसलाई आन्दोलनको विषय नबनाउन समेत कांग्रेससँग आग्रह गरेका छन् ।
‘चिकित्सा शिक्षा विधेयक उहाँहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनु हुन्न,’, रिपोर्टस् क्लब, दाङले तुलसीपुरको टरिगाउँ विमानस्थलमा आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा सभामुख महराले भने, ‘प्रक्रियामा गइसकेको कुरालाई उछाल्न खोज्नु गलत हो ।’ चिकित्सा शिक्षाको विधेयकको विरोधमा कुनै दम नरहेकाले यसबाट पछि हट्न उनले कांग्रेसलाई सुझावसमेत दिएका छन् ।
फरक प्रसंगमा सभामुख महराले कर्मचारीकै कारण दाङको एकमात्रै विमानस्थल टरिगाउँ विमानस्थलको अस्थायी इन्धन डिपो ल्याउने काममा ढिलाइ भएको बताए ।
‘अस्थायी इन्धन डिपो ल्याउने विषयमा आयल निगमसँग मन्त्री र सचिवले तोक लगाइसक्नुभएको थियो’, महराले भने, ‘तर,कर्मचारीले फाइल गायब बनाएपछि ढिलाइ भएको छ ।’ कर्मचारीले फाइल गायब गायब पारे पनि अस्थायी इन्धन डिपो ल्याउने प्रक्रिया सुरु भइसकेको उनले जानकारी दिए ।