काठमाडौं माघ, २२–
नेपाली कांग्रेसका सांसदहरुले प्रदेश ५ को प्रदेशसभा बैठक अवरोध गरेका छन् । कांग्रेस सांसदहरुले रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ ।
थप गरिएको समय सकिन लाग्दासमेत प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्न गठित बिशेष समिति राय सुझाव लिन जिल्ला नगएको विरोधमा कांग्रेसले मंगलबार रोष्ट्रम घेराउ गरेको हो ।
निर्धारित समय भन्दा ४५ मिनेट ढिला गरी सुरु भएको प्रदेशसभा बैठकमा सभामुख पूर्णबहादुर घर्तीले संसदको कार्य अगाडि बढाउन थाले लगत्तै कांग्रेस सांसदहरु आ(आफ्नो आशनबाट उठेर बिरोध जनाए ।
बिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले केही असहमति भएको बताएपछि सभामुख घर्तीले रोष्ट्रममै आएर आफ्ना कुरा राख्न समय दिएका थिए ।
प्रतिनिधित्वको नाममा बिशेष समितिलाई राय सुझाव लिन जिल्ला नखटाएर समितिको म्याद गुजार्ने षडयन्त्र भैरहेको भन्दै समितिका सदस्यहरुलाई काममा नखटाए सम्म कांग्रेसले संसद अवरोध गर्ने जानकारी गराए ।
बिशेष समिति गठन भएको अहिले छैठौं महिना चलिरहेको र अब पनि समितिले काम नथाले कामै सुरु नगरी म्याद सकिने भन्दै उनले समितिलाई तत्काल काममा खटाउन माग गरे ।
बिरोधका बाबजुद सत्ता पक्षका सचेतकले धारणा राखे
कांग्रेस सांसदहरुको बिरोधका बाबजुद पनि सभामुखले सत्ता पक्षीय नेकपाका सचेतक भूमिश्वर ढकाललाई बोल्न समय दिएपछि थप रुष्ट भएका कांग्रेस सांसदहरुले नाराबाजी गर्नुकासाथै टेबुल ठटाएर बिरोध जनाएका थिए ।