काठमाडौं माघ, २५–
यतिवेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भेनेजुएला विवादको दल दलमा फसेको छ । भेनेजुएलाको मुद्दामा नेकपाका दुई अध्यक्ष नै सार्वजनिक रुपमा आरोप प्रत्यारोपमा उत्रिएपछि नेकपा नै विवादको भूँमरीमा फसेको छ । नेकपा मात्रै होइन निकै शक्तिशाली ठानिएको सओली नेतृत्वको सरकार नै विवादको भुङ्रोमा परेको हो ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली मूलुक बाहिर रहेका बेअला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएकाको सार्वभौमसत्तामाथि हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएपछि विवाद उत्कर्षमा पुगेको हो । यतिवेला विवाद मथ्थर हुनुको सट्टा झन् झन् उत्कर्षमा पुग्दै गैरहेको छ ।
गत माघ ११ गते अध्यक्ष प्रचण्डले निकै विचार गरेर वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको सल्लाहमा निकालेको विज्ञप्तिले यतिवेला सरकार मात्रै होइन नेकपा पार्टी समेत धरापमा परेको देखिन्छ ।
नेकपा सचिवालय बैठकले पनि प्रचण्डको विज्ञप्ति सही भएको निष्कर्षसहित सोही अनुसार बाहिर एउटै बोली बनाउने निर्णयसमेत गरेको थियो । तर, नेताहरु त्यसलाई लत्याएर सार्वजनिक रुपमै एक अर्काको मानमर्दन गर्न थालेपछि एतिवेला पार्टी नै दुई धारमा विभक्त भएको देखिन्छ ।
प्रचण्डले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट त भएको छ नै पार्टीभित्र पनि दुई धार अझ गाढा बनेको छ । गत जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भए पनि दुई अध्यक्षले आपसमा एकको जश अर्कोले लिने परिपाटी नबनेकाले दरार अझ गाढा बनेको हो ।
यसअघि सरकार आलोचित हुँदा प्रचण्डले जश नलिएर सरकार गलत बाटोमा हिँडेको छ भन्न भ्याएका थिए भने अहिले प्रचण्डले बोलेको विषयलाई लिएर ओलीले सही हो भन्ने हिम्मत गर्न सकेनन् ।
ओलीले प्रचण्डको विज्ञप्तिलाई शब्द चिप्लिएको प्रतिक्रिया दिएका थिए । त्यसपछि दुई अध्यक्षबीचको सम्बन्ध थप चिसिएको छ ।
ओली शब्द चिप्लिएको भन्ने र प्रचण्डले होस हवासमै लेखेकाले शब्द स्पष्ट भएको बताएर दुई अध्यक्षबीचको टकराव बाहिर ल्याइदिए ।
माघ ११ पछि प्रचण्डले यो विषयमा बाहिर भाषण गरेका थिएनन् । बोल्न पनि चाहिरहेका थिएनन् । दवावमा उक्त विज्ञप्ति जारी गरेको भन्ने समाचार बाहिर आएपछि वाध्य भएर होसमै लेखेको र दोष कसैलाई नदिएको स्पष्ट पारेका थिए ।
तर बिहीबार भने प्रचण्ड कडा रुपमा नै उत्रिए । उनले संस्थागत रुपमै पार्टीले सार्वजनिक गरेको कुरालाई ब्यक्तिले सफाइ दिने आवश्यकता नभएको बताएर प्रचण्डले ओलीलाई पनि साइजमा ल्याउने काम गरेका छन् ।
पार्टीले निर्णय गरेपछि त्यसै अनुसार बाहिर ब्रिफिङ गर्ने नियम छ । तर सचिवालय बैठकको निर्णय लत्याउँदै प्रधानमन्त्री ओली र प्रचण्ड मात्र बोलिरहेका छैनन् अरु नेताहरुले पनि आफू सुहाउँदो वक्तब्य दिँदै आएका छन् ।
उनीहरुले आफूलाई मात्र केन्द्रमा राखिरहेको आरोप नेकपाभित्र लाग्दै आएको छ । नेकपाको एक खेमा प्रचण्ड र ओलीलाई मिलाउने अभियानमा लागेको छ भने अर्को खेमा यिनीहरुको दूरीलाई अब बढाउने काम गरिरहेको छ ।