मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुलुकमा माओवादी भन्दा पनि ठूलो आन्दोलन हुनसक्ने सरकारलाई प्रचण्डको चेतावनी



काठमाडौं माघ, २५–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल स्वयम् सरकारविरुद्ध खनिएका छन् । सत्तारुढ दलकै अध्यक्ष दाहाल संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै सरकारविरुद्ध खनिएका हुन् ।
सरकार शान्ति सम्झौता र संविधानको मर्म विपरीत चलिरहेको समेत अध्यक्ष दाहालले आरोप लगाए । स्थानीय र प्रदेश सरकारलाई दिएको संवैधानिक अधिकार प्रत्यायोजन गर्न सरकार तयार नभएको अध्यक्ष दाहालको भनाइ छ । शुक्रबार काठमाडौंमा ‘स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको विमोचन गर्दै उनले कानुन निर्माण, सुरक्षा, बजेट सबै विषयमा सरकारले प्रदेश र स्थानीय तहको अधिकार संकुचन गर्न खोजेको भन्दै आपत्ति जनाए ।

अध्यक्ष दाहालले संविधानलाई आत्मसात गरेर त्यसको इमान्दार कार्यान्वयन गर्ने कुरामा विलम्ब गरे देश भयानक दूर्घटनामा फस्ने चेतावनी दिए । उनले सिमान्तकृत तथा उपेक्षित जनतालाई राष्ट्रको मालिक भएको महसुस हुनेगरी सन्तुष्टि दिने कुरालाई बेवास्ता गरिरहे देशका लागि दूर्भाग्य हुनेतर्फ पनि सरकारलाई सचेत गराए ।

अध्यक्ष दाहालले स्थिति यही रहिरहे मधेशका एक खालको, पहाडमा अर्को खालको आन्दोलन सुरु हुने खतरा पनि उल्लेख गरे । जनयुद्ध र जनआन्दोलनको मर्मअनुसार सरकारले काम नगरे मुलुकमा माओवादीभन्दा पनि ठूलो आन्दोलन हुने अध्यक्ष दाहालले चेतावनी दिए ।

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार  १० : ३८ बजे