नेकपामा द्वन्द्वका पराकम्पन थपिदै



काठमाडौं माघ, २७–नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वले पार्टी पूर्ण रूपमा एक भइनसक्दै विभाजन हुनेसम्मको आशंका बढाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलाका सन्दर्भमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘चिप्लिएको’ टिप्पणी गरेलगत्तै सरकारप्रति खनिएका दाहाललाई शनिबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कटाक्ष गरेका छन् ।

नेता भीम रावलले दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा औंल्याएका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

पोखरेलले दाहालको अभिव्यक्तिलाई लक्षित गर्दै शनिबार फेसबुक पेजमा लामो स्टाटस (हेर्नुहोस् पृष्ठ २) लेखेका छन् । उनले पार्टी एकता घोषणा गर्दा गम्भीर छलफल र समीक्षा नभएको भन्दै सनक र उन्मादमा रमाउनेलाई पार्टी नेतृत्वमा ल्याउँदा दुर्भाग्य हुने भनी दाहालप्रति कटाक्ष गरेका हुन् । ‘कम्युनिस्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्वीकृत पात्रहरू नै हुन् र हुनुपर्छ । तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन/ल्याइनै हुँदैन,’ पोखरेलले भनेका छन्, ‘अझ सनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्‍याउनै हुन्न । त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ ।’ पोखरेलले सरकारका कामकारबाहीको बचाउ पनि गरेका छन् ।

दाहालले शुक्रबार एक कार्यक्रममा सरकार संविधानको मर्मअनुसार नचलेको भन्दै ओलीको कार्यशैलीको कडा आलोचना गरेका थिए । उनले माओवादी समाप्त भएको रूपमा नबुझ्न जिकिर गर्दै ‘अर्को माओवादी’ जन्मिने चेतावनी दिएका थिए । नेता रावलले दुई अध्यक्षबीचको द्वन्द्व समयमै समाधान गर्न नसके पार्टी विभाजनसम्मको खतरा रहेको औंल्याए । ‘देश र सरकारबारे बोल्दा विगतमा पार्टी फुटेको छ, त्यसलाई स्मरण गर्दै पार्टी एकीकरणको काम चाँडै टुंग्याउनुपर्छ,’ उनले कान्तिपुरसँग भने ।

दुई अध्यक्षबीचको विवाद भेनेजुएला प्रकरण र पार्टी एकीकरण प्रक्रियासँग सम्बन्धित रहेको उनले बताए । ‘तीन महिनामा एकीकरण हुने भनिएको पार्टी ९ महिना बित्दासमेत हुन सकेको छैन । हजारौं नेता तथा कार्यकर्ता कामविहीन छन्,’ उनले भने, ‘विगत स्मरण गर्दै पार्टी एकतालाई प्राथमिकतामा राखेर चाँडै टुंग्याउनुपर्छ ।’

भेनेजुएलाको राजनीतिक संकटबारे दाहालले दिएको वक्तव्यलाई ओलीले स्वामित्व नलिएपछि दाहाल ओलीसँग चिढिएका थिए । अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखेपछि ओलीले दाहालको वक्तव्यको स्वामित्व लिन चाहेका थिएनन् । उनले दाहालको अभिव्यक्ति हतारोमा आएको र शब्द चिप्लिएको भनी टिप्पणी गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  २ : ०९ बजे