मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

११ मिनेट मै राष्ट्रियसभाको बैठक स्थगित, विद्यार्थी पक्राउ गरिएको बिषयमा कांग्रेसको ध्यानाकर्षण



काठमाडौं माघ, २८–
सोमबार बसेको राष्ट्रिय सभाको बैठक ११ मिनेट बसेर स्थगित भएको छ । विभिन्न विधेयकहरु सम्बन्धी प्रस्तावहरु पारित गर्दै मंगलबार फेरि बस्नेगरी बैठक स्थगित भएको हो ।
बैठक सुरु भएपछि राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट पारित भएको वेपत्ता पारिएका व्यक्ति, सत्यनिरुपण तथा मेलमिलाप आयोगको विधेयकको पारित सम्बन्धी सूचना राष्ट्रिय सभामा पेश गरेका थिए । सो सन्देश सुनाएसँगै नेपाली कांग्रेसका सांसदहरुले राष्ट्रिय सभा अध्यक्षसँग समय माग गरेका थिए ।
त्यसपछि काँग्रेस सांसद विन्दा आलेले केही दिन अघि नेपाल विद्यार्थी संघका कास्की शाखाका विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको विषयमा सभा मार्फत् सरकारको ध्यानाकर्षण गराएकी थिईन् । उनले ती नेताहरुले जलाउँदै नजलाएको गाडी समेत जलाएको भनी झुठा मुद्दामा अझै थुनामा राखेको भन्दै सरकारको विरोध समेत गरेकी थिईन् । उनले संसद मार्फत् नै सरकारलाई ती विद्यार्थीहरुलाई यथासक्य चाँडो रिहा गर्न समेत सरकारसँग माग गरेकी थिईन् । निर्मला पन्तको हत्यारालाई ५ महिनासम्म पत्ता लगाउन नसकेको सरकारले ७ दिनदेखि विभिन्न विद्यार्थीहरुलाई थुनामा राखेको भन्दै उनले विरोध गरेकी हुन् ।

त्यसपछि सभामा गृहमन्त्री रामबहादुर थापाले ज्येष्ठनागरिक सम्बन्धी पहिलो संशोधन विधेयक २०७५ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन मितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मतीले पारित भएपछि अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाबाट पारित भई आएको निवृत्तिभरण कोष सम्बन्धी विधेयकलाई खफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाईइोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको थियो ।

त्यसपछि अर्थमन्त्री खतिवडाल नै नागरिक लगानी कोष सम्बन्धी विधेयकको दोस्रो संशोधनलाई विधायन समितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव समेत सर्वसम्मतीले पारित भएपछि विज्ञापन नियमन गर्नै विधेयकलाई समेत विधायन समितिमा पठाउने निर्णय गर्दै सभाको बैठक मंगलबार विहान ११ बजेसम्मकोलागि स्थगित गरिएको छ ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ६ : ३५ बजे