नेविसंघकै कारण कांग्रेस नै विवादमा मुछिन थाल्यो, राजीनामा दिने तयारीमा अध्यक्ष महर



काठमाडौं माघ, २८–
नेपाल विद्यार्थी संघ (नेविसंघ) को विषयमा पार्टी भित्रै विवाद उत्पन्न हुनथालेपछि नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने तयारी गरेका छन् । भातृसंस्थाको कारण माउ पार्टी नै विवादमा तानिन थालेपछि महरले यस्तो मनस्थिति बनाएको बुझिएको छ । अध्यक्ष महरले पार्टीका नेताहरुबाट आएको ‘प्रेसर’ थेग्न नसकेपछि आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिने तयारी गरेका छन् ।
कांग्रेस स्रोततका अनुसार नेविसंघकै विषयमा पार्टीभित्र नेताहरुका बीचमा ‘द्वन्द्व’ देखिएपछि उनले राजीनामा गरेर मार्गप्रसस्त गर्न खोजेका हुन् । स्रोतका अनुसार अध्यक्ष महर राजीनामाका लागि केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँग छलफल गरिरहेका छन् ।
उनले आफू पदबाट राजीनामा दिने मनस्थितिमा रहेको र संगठन र पार्टीभित्र छलफल गरिरहेको प्रतिक्रिया दिएका छन् ।
यसअघि आइतबार पत्रकार सम्मेलन पछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको विवाद छिट्टै समाधान हुने प्रतिक्रिया दिएका थिए । ‘‘नेविसंघको विवाद टुंगिन्छ । सम्भवत यो विषयमा केन्द्रीय कार्यसमितिले निर्णय गर्नु पर्दैन होला, बाहिर नै समाधान हुन्छ,’ उनले घुमाउरो पारामा भनेका थिए ।

नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाका समयावधी माघ २ गते पूरा भैसकेको थियो । तर पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखेको थियो । सम्भववतः आज बसीरहेको कांग्रेस केन्द्रीय समिति बैठकले नेविसंघका बारेमा निर्णय गर्न सक्ने अनुमान लगाईएको छ ।

प्रकाशित मिति : माघ २८, २०७५ सोमबार  ७ : १५ बजे